सीपी लोहिया/बैतडी । बैतडीको पाटन नगरपालिका वडा न १० को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन बुझ्न अस्विकार गर्नुभएको हो ।
निर्वतमान वडा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण नवनिर्वाचित अध्यक्षले बुझ्न नमानेको भवन निर्माण कम्पनी एसके निर्माण सेवाले जनाएको छ । एसके निर्माण सेवाका प्रबन्धक मदनमोहन बिष्टले भन्नुभयो, ‘भवनको काम सम्पन्न भएको एक महिना भैसक्यो । पूर्व वडाअध्यक्षले आफ्नो नामको शिलालेख लगाएका कारण वर्तमान वडाअध्यक्षले बुझ्न मान्दैनन् ।’

भवनका कोठाहरूको चाबी खल्तीमा राखेर हिँडेको तर नयाँ वडा अध्यक्षले शिलालेख हटाए मात्रै भवन बुझ्ने भन्ने गरेको विष्टको गुनासो छ । निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवरले आफ्नो कार्यकालमै भवन निर्माण भएको भनेर शिलालेख लागाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तर भवन उद्घाटनको शिलालेख लगाएका छैनौँ । हामीले भवन बनाएका हौँ भन्न नमिल्ने हुँदैन् । हाम्रै पहलमा भवन बनेको हो । हामीले बजेट हाल्न पहल गरेका हौँ । त्यसैले वडा पदाधिकारी र कर्मचारीहरूको संयुक्त बैठकबाट निर्णय गरेर शिलालेख लगाएका हौँ । वर्तमान वडा पदाधिकारीहरूले उद्घाटनको शिलालेख लगाउन सक्नुहुन्छ ।’
वडा भवन बुझ्न नमानेका नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुवरले भने निर्माणाधीन भवनमा शिलालेख लगाउनु गलत भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्माण सम्पन्न नभइसकेको भवनमा आफ्नो नामको शिलालेख लगाउन मिल्छ की मिल्दैन् । यस्को पुष्टि हुनुपर्छ त्यसपछि मात्रै हामी भवन बुझ्छौँ ।’

निर्वतमान वडाअध्यक्ष कुँवरले भने भवन निर्माण भई रंगरोगन भैसकेको अवस्थामा आफूहरूले शिलालेख लगाएको बताउनु भयो । समस्यामा परेका निर्माण व्यवसायीले भने दुई वटा शिलालेख राख्न सक्ने ठाउँ बनाइदिएका छन् ।
वडा कार्यालय भवन ६४ लाख लागतमा निर्माण सम्पन्न भएको हो । शिलालेख लगाउने निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवर शिलालेखका कारण भवन बुझ्न नमान्ने वर्तमान वडाअध्यक्ष धनबहादुर कुँवर ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावका प्रतिस्पर्धी हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्