जनता टाइम्स

२ श्रावण २०७९, सोमबार २२:०७

प्रदेश १ को नामाकरण साउन १५ भित्र, सुरक्षा व्यवस्था कडा पार्न मुख्यमन्त्री राईको निर्देशन


विराटनगर, साउन २ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित सुरक्षा प्रमुखहरूको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले साउन ८ गतेबाट प्रदेशसभा बैठक सुरु भई त्यसको एक हप्तापछि प्रदेशको नामकरणको प्रक्रिया सुरु हुने सम्भावना आफूले देखेको बताउनु भएको हो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले नामकरणका बेला हुनसक्ने सुरक्षा चुनौतीबारे सजग रहन पनि आग्रह गर्नुभयो । प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकबाट एउटा खाका आउनसक्ने उहाँको भनाई छ ।

‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ, मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँका अनुसार उक्त सर्वदलीय बैठकपछि साउन ८ गतेबाट प्रदेशसभाको बैठक सुरु हुने र साउन १५ गतेको आसपासमा नामकरणको प्रक्रिया अघि बढने छ । उहाँले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गर्दै सरकारले यसमा सहजीकरणमात्रै गर्ने बताउनु भयो ।

बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखसहित नेपाली सेना भैरव गणका गणपति, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।