जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १०:४४

संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई पराजित गर्न एमाले सक्षम : महासचिव पोखरेल


सुर्खेत, साउन ८ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा एमाले गठबन्धनलाई पराजित गर्न सक्षम रहेको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धनको काम देश बनाउने नभई विगार्ने रहेको बताउनु भयो । महासचिव पोखरेलले त्यसको नतिजा स्थानीय तहको निर्वाचनले एमाले पहिलो दल बनाएर पुष्टि भइसकेको बताउनु भयो। महासचिव पोखरेलले नागरिकता बिद्येयक पारित प्रक्रियाको पनि कटु आलोचना गर्नुभयो ।

‘नेपाली चेलीहरु भारतमा बिहे गर्दा उनीहरुले त्यहाँको नागरिकता पाउनको लागि सात बर्ष लाग्छ, तर भारतीय चेलीहरु नेपालमा विहे गरी आउँदाखेरी तत्कालै नागरिकता प्राप्त गर्ने प्रबन्ध गर्नु भनेको दुई देशबीचको असमानता सिर्जना गराउनु हो,’ महासचिव पोखरेलले भन्नुभयो, ‘यस्तो कुरालाई अझ संसदमा राख्ने कुरा राष्ट्रको सार्वभौमिकताको दृष्टिकोणले पनि उचित होईन ।’

महासचिव पोखरेलले नागरिकता विधेयक हतारमा पारित गर्नु सरकारको नलायकीपन भएको बताउँदै यसबाट नेपाली चेलीहरुले अन्याय व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने तथ्य राख्नुभयो ।