जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार ०५:२३

प्रचण्ड-माधव र बामदेवमा यति धेरै छटपटी किन ?


कतै कांग्रेसले गठबन्धन नगर्ला कि भन्ने त्रास मात्रै हो यो छटपटी, उहाँहरु (प्रचण्ड–माधव) मा एक्लै चुनाव जितिन्छ भन्ने एक प्रतिशत पनि बिश्वास छैन, एमालेले साथ दिन्न भन्नेमा पनि उहाँहरुमा शंका छैन

समाचार बिश्लेषण

काठमाडौं । बिगत केही सातायता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तात्कालिन नेकपा बिभाजन गर्ने पाँच नेतामा अनौठो प्रकारको छटपटी देखिएको छ । भारत भ्रमणपछि प्रचण्डमा देखिएको छटपटीसँगै अन्य चार नेतामापनि त्यस्को प्रभाव परेको देखिएको हो ।

यही छटपटीका कारण पाँच नेता समाजवादी केन्द्र निर्माणको नारा दिएर सत्तारुढ गठबन्धनका मुख्य दल नेपाली कांग्रेसलाई दवावमा राख्ने रणनीति अघि बढाएको तथ्य खुलिसकेको छ । नेपाली कांग्रेसका नेताहरुको बुझाइमा प्रचण्ड र माधव नेपालसहितका पाँच नेताहरु समाजवादी समाजवादी केन्द्र निर्माणदेखि बामपन्थीबीचको तालमेल र एकताको नारा दिएर कांग्रेसमाथि दवाव हाल्ने रणनीतिमा लागेका छन ।
प्रचण्ड–माधवमा ‘किन त यति धेरै छटपटी ?’ भन्ने जनताटाइम्स डटकमको अनौपचारिक प्रश्नमा प्रधानमन्त्री शेरबहादुर देउवा निकट एक नेताले भने, ‘कतै कांग्रेसले गठबन्धन नगर्ला कि भन्ने त्रास मात्रै हो यो छटपटी, उहाँहरु (प्रचण्ड–माधव) मा एक्लै चुनाव जितिन्छ भन्ने एक प्रतिशत पनि बिश्वास छैन, एमालेले तालमेलमा साथ दिन्न भन्नेमा पनि उहाँहरुमा शंका छैन ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तात्कालिन नेकपाको ९ सदस्यीय सचिवालयमध्ये दोस्रो बरियताका अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आफ्नो ब्यक्तिगत फाइदाका लागि पार्टी बिभाजन गर्नुभएको थियो । स्वयं बामदेव गौतमले नेकपा राष्ट्रिय एकता अभियानको भेलामा केपी ओली एकता बचाउन प्रधानमन्त्री छाडन तयार रहे पनि प्रचण्ड नमानेको तथ्य बाहिर ल्याउनु भएको थियो । उहाँले आफू प्रचण्डतिर लाग्दा नेकपा बिभाजन भएको भन्दै क्षमायाचनासमेत गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी पनि प्रधानमन्त्री बन्ने लालसा पालेर हिडनु भएको छ । यही लालसाका कारण उहाँले आफैले कडा बिरोध गरेको एमसीसी र नागरिकता बिद्येयक पारित गरिसक्नु भएको छ । गठबन्धन सरकारमा रहिरहनु पर्ने बाध्यताका कारण यी दुवै काम देशको हितबिरुद्ध रहेपनि समर्थन गरी पारित गरिएको सार्वजनिक अभिब्यक्ति माओवादीबाट आएको छ ।

अव प्रधानमन्त्री देउवाले एसपीपीलाई पनि यही रणनीतिअनुसार पारित गराउने योजना बनाएको परराष्ट्र मन्त्रालयका बरिष्ठ अधिकारीहरुको भनाईले प्रष्ट पारेको छ । प्रधानमन्त्री देउवाले क्याविनेटबाट एसपीपी अघि नबढाउने निर्णय गरे पनि परराष्ट्रलाई पत्राचार गर्नबाट रोक्नुभएको छ । ‘प्रचण्ड र माधव गठबन्धनका लागि एसपीपी पारित गर्न तयार हुनेछन, अहिलेलाई पत्र नपठाउनु भन्ने परराष्ट्रमन्त्री डा. नारायण खडकालाई निर्देशन दिएर प्रधानमन्त्रीले पत्र पठाउनबाट रोक्नु भएको हो ।

संसदमा पत्र पठाइसकेको बताए पनि परराष्ट्रबाट नगएपछि अहिले यो कुराले थप बल पाएको छ । बिगत ६ महिनायताको घटनाक्रमले प्रचण्ड र माधव सरकार नछाडने, त्यसको बदला जे पनि गर्ने प्रष्ट भइसकेको भन्दै देउवा भारतदेखि अमेरिकासम्मले चाहेका र यसअघि थाँती रहेका सवै नेपालबिरोधी काम गर्न तम्तयार देखिनु भएको छ ।

सर्वाेच्चले परमादेश दिएर गठन भएको सरकार र संसदको बहुमतको भरपुर उपयोग नेपालको हितमा भन्दा भारत र अमेरिकाको हितमा प्रयोग गर्ने रणनीति देउवाको छ । प्रचण्ड र माधव त्यस्को मोहोरा बनेकोले देउवा थप काम गर्न चाहेको र आगामी चुनावमा एक्लै बहुमत ल्याएर प्रचण्ड र माधवलाई सडकमा लखेटने रणनीतिमा देखिएपछि छटपटी बढेको जोकोहीले बुझन सकिने कांग्रेसका धेरै नेताको बुझाइ छ ।