जनता टाइम्स

१० श्रावण २०७९, मंगलवार १५:५२

बलात्कारी भनेको अभियोगमा रोशनी शाही पक्राउ


काठमाडौं, साउन १० । तात्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर चर्चामा आउनु भएकी रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । शाहीलाइ पशुपतिनाथ क्षेत्रमा सातादेखि ‘अतिरुद्र महायज्ञ’मा जुटिरहेका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध बलात्कारी भन्दै नाराबाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाउनु भएकी शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर सिद्धबाबाविरुद्ध नाराबाजी गर्नुभएको थियो । आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेर हाल अदालतमा मुद्दा प्रक्रियामा रहेका सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै नारावाजी गर्नुभएको थियो ।

त्यसपछि शाहीलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो । पशुपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ ।

महायज्ञका प्रमुख वाचक गिरीविरुद्ध अहिले जिल्ला अदालत सुनसरीमा चलिरहेको मुद्दा विचाराधीन छ । उक्त महायज्ञको उद्घाटनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती समेत सहभागी हुनुभएको थियो ।