चितवन, साउन ११ । पारिवारिक शंकाले कतिसम्मको बिनास निम्त्याउँछ भन्ने उदाहरण चितवनको एउटा घटनाले देखाएको छ । भरतपुर महानगरपालिका–१० निवासी कृष्णप्रसाद आचार्य र रुष्मा आचार्य घिमिरेको जीवन शंकाकै कारण समाप्त भएको छ ।
कसैले श्रीमतीको बारेमा नचाहिँदो कुरा लगाइदिएपछि साउदी अरबमा रहेका कृष्णप्रसाद परिवारका सदस्यलाई जानकारी नै नदिए गत जेठ १९ गते नेपाल आइपुगे । कृष्ण रमाइलो चोकस्थित घर पुग्दा उनकी श्रीमती रुष्मा लुगा पट्याएर बसिरहेकी थिइन् । अचानक घर आएर श्रीमानले ‘सरप्राइज’ दिएकामा खुसी भएकी रुष्माले त्यसै दिन नराम्रोसँग पतिको कुटाइ खानुपर्यो ।
कृष्ण विदेशमा बस्दा पनि घरमा रहेकी श्रीमती रुष्मामाथि शंकाको नजरले हेर्थे भने रुष्मा त्यसको प्रतिवाद गर्दै आएकी थिइन । शंकाले निकै माथि पुगिसकेका कृष्ण घर फर्किएपछि विवाद झनै उग्र बन्यो । छिमेकीका अनुसार साउन ८ गते बिवादले उग्र रुप लियो । कृष्णले घाँटीमा धारिलो हतियार प्रहार गरेर श्रीमती रुष्माको हत्या गरिदिए । श्रीमतीलाई हत्यो गरेपछि आफूले पनि घरको तीन तला माथिबाट हाम फालेर आत्महत्या गरे ।
तीन तले घरको माथिल्लो तलामा कृष्ण र उनकी आमा तथा दोस्रो तलामा रुष्मा र १२ वर्षीया छोरी बस्दै आएका थिए । ८ गते कृष्णकी आमा बट्टाइदेवी आचार्य आफन्तको घरमा जानुभएको थियो । त्यही मौकामा कृष्णले श्रीमतीमाथि खुकरी प्रहार गरेका थिए ।
श्रीमतीलाई खुकुरीले हानेपछि घरको तेस्रो तलाको छतमा पुगेका कृष्ण घर अगाडिको सडकमा हाम फाले । भुइँमा बजारिँदा टाउकोमा गम्भीर चोट लाग्यो । कृष्णलाई प्रहरीले उपचारका लागि चितवन मेडिकल कलेज पठायो ।
भित्र बैठक कोठामा रगताम्य भएर ढलेकी ३५ वर्षीया रुष्मालाई प्रहरीले पुरानो मेडिकल कलेजमा पठायो । तर दुबैलाई चिकित्सकले मृत घोषणा गरे । पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार रुष्माको घाँटी र हातमा पनि थुप्रै चोट थिए । कृष्णको भने निधारको भाग सडकमा बजारिएर फुटेर मृत्यु भएको थियो ।

कृष्ण र रुष्माबीच १४ बर्षअघि बिवाह भएको थियो । घर बनाएको ऋण तिर्न गाह्रो भएपछि कृष्ण वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । पेशाले शिक्षिका रुष्मा घर सम्हालेर बसिन । उनले केही बर्ष नारायणगढको भानु मावि र पछि तोरीखेतस्थित राष्ट्रिय माविमा पढाउने काम गरिन । गत जेठ १९ गते अकस्मात विदेशबाट घर आएका श्रीमानले कुटपिट गर्न थालेपछि रुष्माले असार ३ गते जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेलमा पुगेर आफ्नो पीडा पोखिन ।
घरेलु हिंसा गरेको भनेर जाहेरी दिएपछि प्रहरीले रुष्माको माइती पक्ष र कृष्णको परिवारसहित राखेर छलफल गरायो । छलफलको क्रममा एकै ठाउँमा बस्न नसक्ने भएपछि उनीहरुको बीचमा एउटै घरमा तर अलग–अलग फ्ल्याटमा बस्ने सहमति प्रहरीकै रोहवरमा भयो । तर श्रीमानले घरमा कुटपिट गर्न नछाडेको भन्दै रुष्मा असार ३१ गते जिल्ला प्रहरी कार्यालय पुगिन । त्यँही उनीहरुबीच छोडपत्रका लागि कानुनी प्रक्रिया अघि बढाउने सहमति भयो ।
छोडपत्रका लागि प्रक्रिया अघि बढाउन सहमत भए पनि जायजेथाको भागबण्डा कसरी गर्ने भन्ने सहमति हुन बाँकी राखिएको थियो । यही बिवाद र शंकाले कृष्णको परिवारकै दर्दनाक अत्य हुन पुग्यो । अर्थात भरतपुरको रमाइलो चोकमा सधैभरी बिर्सन नसकिने एउटा कहाली लाग्दो र दर्दनाक घटना घटन पुग्यो । शंकाले लंका जलाउँछ भन्ने उखान ब्यवहारमा चरितार्थ भयो ।














प्रतिक्रिया दिनुहोस्