जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १०:५६

टी-२० विश्वकप छनोट : नेपाललाई गतिलो झट्का, कतारसँग ४ विकेटले पराजित


काठमाडौं, साउन ७

आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपाललाई गतिलो झट्का लागेको छ । पहिलो खेलमा कतारसँग अप्रत्यासित हार ब्यहोर्नुपरेको छ ।

सिंगापुरमा भएको आफ्नो पहिलो खेलमा नेपाल कतारसामु ४ विकेटले पराजित भएको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले ४ बल बाँकी छदै बलमा ६ विकेट गुमाएर भेटाएको थियो । कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाए । सोमपाल कामी ११ र शरद भेषवाकरले ९ रन जोडे । पहिलो विकेट गुमाएपछि नेपाली ब्याट्सम्यानहरु लगातार आउट हुन पुगेका थिए । अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ ।