झापा, साउन १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र–५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई आज सम्वोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।
झापाको क्षेत्र–५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रुपमा हेरिएको स्मरण गर्दै अध्यक्ष ओलीले यी स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकेन भनेर समिक्षा गर्न पनि निर्देशन दिनुभयो । समिक्षाबाट निराश नभई आगामी निर्वाचनमा सहज जितको परिणाम ल्याउने कार्ययोजनासहित अघि बढ्न उहाँले सुझाव दिनुभयो ।
सरकारमा नहुँदा के के हुँदो रहेछ ? अहिलेको सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको पनि उहाँले बताउनुभयो । देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गर्ने जस्ता कुराले यो सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट भएको उहाँको भनाई थियो ।
एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागि परेकाहरु अहिले बाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद भएको पनि अध्यक्ष ओलीले बताउनु भयो । पाँच जना मान्छे मिल्दैमा बाम एकता नहुँदै भन्दै उहाँले एमालेलाई तर्साउनका लागि यस्ता हर्कत नगर्न चेतावनी दिनुभयो ।

‘एमाले सरकारमा नहुँदा केके हुँदो रहेछ गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको छ । देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गरिरहेका छन् । यो वर्तमान सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट छ । एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरु अहिले वाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद कुरा हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
सोही कार्यक्रममा एमालेका प्रदेश ईन्चार्ज देवराज घिमिरे, स्थायी कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नी खरेल लगायतले एमाले प्रवेश गर्नेलाई स्वागत गर्नु भएको थियो । बिहीबार नै आफ्नो गृहनगर दमकमा भएको कार्यकर्ता भेलालाई सम्वोधनका क्रममा अध्यक्ष ओलीले वर्तामान सरकार रहे सम्म राष्ट्रियता र स्वाधिनता थप कमजोर हुने भन्दै आगामी निर्वाचनबाट एमालेको सहज बहुमतका साथ सरकार बनाउने दिशामा अघि बढ्न निर्देशन दिनुभएको थियो ।

तीन दिने झापा बसाई र कार्यकर्ताहरुसँग सघन भेटघाटका लागि एमाले अध्यक्ष ओली बुधबार गृहजिल्ला झापा आउनु भएको हो । यस पटकको झापा बसाईका क्रममा उहाँका ठुला र सार्वजनिक कार्यक्रम खासै छैनन । कार्यकर्तासँगको सघन छलफल, भेटघाट र अन्तरक्रियाका लागि उहाँ झापा आउनु भएको एमालेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्