जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार २०:३१

कागेश्वरी मनोहराका प्रमुख उपप्रमुखसहितको टोलीद्वारा स्कुलको अवलोकन


भक्तपुर, १३ साउन । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलगायतको टोलीले आज भक्तपुरको एभरेष्ट इंगलिश स्कुलको अवलोकन भ्रमण गरेको छ । नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ति थापा, नगरपालिका क्षेत्रको वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु तथा नगर क्षेत्रका स्कुलहरुका प्रिन्सिपलहरुको जम्बो टोलीले भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलको अवलोकन भ्रमण गरेको हो ।

टोलीले स्कुलको शिशु कक्षादेखि कक्षा १० सम्मका कक्षा कोठाहरु, लाइब्रेरी, कम्प्युटर ल्याब, संगीत कक्ष, फोहोरमैला प्रशोधनलगायतका विषयहरुको अवलोकन भ्रमण गरेको थियो । साथै अवलोकन भ्रमणपछि विद्यालयका विविध विषयमा स्कुलका प्रिन्सिपललगायतसँग जानकारी लिएका थिए ।

अवालोकन भ्रमणपछि नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा भक्तपुर नमूना नगर भएको भन्दै भक्तपुर नगरपालिकाको प्रशंशा गर्नुभयो । ‘हामी फरक पार्टीका मानिस हौ तर त्यसो भए पनि शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका भक्तपुर नगरपालिकाले गरेको कामको हामी सवैले प्रशंशा मात्रै होइन, अनुकरण पनि गर्नुपर्छ,’ भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलको अवलोकन भ्रमणमा पुगेको मेयर कार्कीले भन्नुभयो ।

भक्तपुर नगरपालिका जस्तै एभरेष्ट स्कुल पनि देशभरिकै स्कुलहरुका लागि नमूना स्कुल भएको उहाँले सुनाउनुभयो ।उहाँले एभरेष्ट स्कुलबाट सिकेर अव कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रभित्रका स्कुलहरुले पनि अनुसरण गर्ने जनाउनुभयो । मेयर कार्कीसहित उपमेयर शान्ति थापा, नगरपालिका क्षेत्रका वडा नं १ देखि ९ सम्मका वडा अध्यक्षहरु, नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिलगायत नगरभित्र रहेका स्कुलको प्रिन्सिपलहरुसँग टोलीले विविध विषयमा जानकारी लिएको थियो ।