स्याँजा, साउन १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहमा पाइएको जस्तो बेइमानीलाई पार्टीले छुट नदिने बटमलाइन सुनाउनु भएको छ ।
नेकपा एमाले स्यांजाले आज आयोजना गरेको प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो । महासचिव पोखरेलले पार्टीभित्र हावी भएको अवसरवादले हरेक नेता–कार्यकर्ता प्रभावित भएको भन्दै अव अवसरवादलाई परास्त गर्नैपर्ने तथ्य औंल्याउनु भयो ।
‘जनआन्दोलनले राज्यसत्ताको नेतृत्वमा कुन बर्गको नेतृत्व स्थापना गर्यो ? कसैको पनि राज्यसत्ता स्थापित गरेन । चुनावमा जुन पार्टीले बहुमत हासिल गर्छ, त्यसैले राज्यसत्ताको नेतृत्व गर्छ भन्ने कुरा गर्यो २०६२/०६३ को जनक्रान्तिले,’ महासचिव पोखरेलले भन्नुभयो, ‘चुनाव एमालेले जित्छ, राज्यको नेतृत्वको सर्वहारा श्रमजीवि बर्गको पक्षमा काम गर्छ । त्यही नेतृत्व कांग्रेसले गरे दलाल पूजीपति बर्गको पक्षमा काम गर्छ । यो सच्चाइलाई हामीले बुझ्ने कि नबुझने ?’
महासचिव पोखरेलले निर्वाचनलाई सामान्य चुनावका रुपमा मात्रै लिने गल्ती नगर्न पनि सवै नेता कार्यकर्तालाई सचेत गराउनु भयो । ‘चुनाव सामान्य होइन, यो निकै ठूलो महत्वको छ । राजनीतिको दिशा बदल्ने चुनाव हो यो चुनाव । त्यसैले हामीले समृद्ध नेपाल निर्माणको अभियान पूरा गर्न चुनाव जित्नैपर्छ, चुनाव जित्न हामीभित्र रहेको अवसरवादलाई परास्त गर्न जरुरी छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा देखापरेको कमजोरी अव दोहोरिन नहुने बताउनु भयो । ‘हामीभित्र जे प्रबृत्ति देखापर्यो, एक हिसावले भन्नुभयो भने अध्यक्ष र प्रमुख भन्दा उपमेयर र वडाध्यक्षको भोट धेरै आउँछ । प्रतिस्पर्धीबीचको एक प्रकारको असर हो त्यो,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले कम्यनिष्ट आन्दोलनका नेता नै अवसरवादको शिकार भएको भन्दै अव एमालेभित्र त्यस्तो काम हुन नहुने बताउनु भयो । ‘एउटा कामरेड किन बिचलित हुन्छ ? बैचारिक कामको अभावमा एउटा कामरेड बिचलित हुन्छ । बैचारिक काममा जति महत्व दिन्छौं, त्यत्ति नै हामीभित्र रहेको अवसरवादलाई परास्त गर्छौं,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले अवसरवादको ताजा नमुनाका रुपमा माधवकुमार नेपाल र प्रचण्डलाई प्रस्तुत गर्नुभयो ।
‘अवसरवाद कस्तो हुन्छ भन्ने कुरा माधव नेपाललाई हेरे पुग्छ । जीवनभर पार्टी सत्तामा रहेको माधव नेपालले अवसरवादकै कारण कलंकको टिका लगाए । आफैले आफैलाई सिध्याए । आफैले बनाएको पार्टी सत्ताका लागि फुटाए । जीवनभर ठूलो पार्टीको नेता बनेर हिडेको मान्छे अवसरवादकै लागि कम्युनिष्ट आन्दोलन बिरुद्ध लागेर नयाँ पार्टी गठन गरे । चुनावमा जनतामा जान पाइएन । त्यसैले कम भोट आयो भनेर रुनु परेको छ,’ पोखरेलले भन्नुभयो ।

एमाले महासचिव पोखरेलले माधव र प्रचण्डले कम्युनिष्ट आन्दोलनबिरुद्ध गरेको अपराध क्षमायोग्य नरहेको भन्दै उनीहरुका कार्यकर्ता एमालेमा भित्र्याएर आफ्नो लक्ष्य पूरा गर्न लाग्नुपर्ने बताउनु भयो ।
‘प्रचण्ड र माधव नेपाल देउवासँगै जाउन । तर नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ । अव ती दुई पार्टीका कार्यकर्तालाई एमालेमा जोडेर एमालेले मुलक निर्माणको नेतृत्व गर्नुछ,’ पोखरेलले भन्नुभयो ।
कार्यक्रममा एमाले सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्यालले एमालेको बिजयबिना मुलुकको सपना पूरा नहुने भएकोले ब्यक्तिगत स्वार्थमा अल्झने गल्ती एमाले नेता कार्यकर्ताबाट नहु नहुने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्