काठमाडौं १४ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताउनुभएको छ । तर, मुलुकको दृघकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुने उहाँले बताउनुभयो । आज नेपाल प्रेस युनियन कैलालीले निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा महतले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताउनुभयो ।
तर, काठमाडौंकै मेयर बालेन्द्र शाहले पनि अहिले काम गर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुन थालिसकेको उहाँको भनाइ छ । ‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाहे हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ । यहाँको मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो । तर अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन’, महतले भन्नुभयो ।
उहाँले झुटा प्रचार गरेर स्वतन्त्रहरुले चुनाव जितेको पनि बताउनुभयो । ‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरुबाट समस्याको समाधान निस्किँदैन, उहाँले भन्नुभयो, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन ।’ प्रवक्ता महतले भुपरिवेष्ठित मुलुक नेपालले अन्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताउनुभयो ।
कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उहाँले बताउनुभयो । यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने उहाँले सुनाउनुभयो । कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने महतको भनाइ छ । ‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन । कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ’, डा. महतले थप्नुभयो ।
उहाँले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संगठनहरुलाई चलायमान बनाउनुपर्ने बताउनुभयो । नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नु पनि उहाँले आग्रह गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने बताउनुभयो । त्यस्तै कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले मुलुकका लागि कुनै योगदान नगरेकाहरु अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेकोले उनीहरुलाई निस्तेज पार्न जरुरी रहेको बताउनुभयो । उहाँले लोकतन्त्रका लागि भएको आन्दोलनमा कुनै भूमिका नभएकाहरु अहिले स्वतन्त्रका नाममा राजनीति गर्न आउन थालेको भन्दै आक्रोश पोख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्