जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार १८:३७

प्रचण्डले क्रमशः खोल्दैछन दिल्ली सम्झौताको पोल


यसिमा महत/काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले दिल्लीलाई साक्षी राखेर आरजु राणा देउवासँग भएका सम्झौताको पोल क्रमशः खोल्दै जानुभएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासंग सत्ता गठबन्धन आगामी प्रदेश र संघीय निर्वाचनपछि सम्म नै टिकाउने र त्यसका लागि आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता गरिएको कुरा त्यतिबेलै चुहिएको थियो ।

सो कुरालाई प्रचण्डले अस्वीकार गर्नु भए पनि शनिबार एक अर्को प्रशंगमा त्यसलाई घुमाउरो पाराले पुष्टि गर्नुभएको छ । शनिबार आफ्नो पार्टी सम्वद्ध सम्पर्क मञ्चको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले काँग्रेसलाई धम्कीको भाषा प्रयोग गर्दै आगामी संघीय निर्वाचनमा आफ्नो पार्टी दोश्रो हुने दावी गर्नुभयो । ‘दोश्रो हुन नदिए काँग्रेसलाई ठेगान लगाइदिने’ भन्दै उहाँले काँग्रेस शीर्ष तह माओवादीलाई दोश्रो बनाउन तयार रहेको पनि बताउनुभएको थियो । काँग्रेसको शीर्ष तह भन्नाले देउवा । देउवापत्नी आरजुलाई अहिले प्रधानमन्त्री हुने भूत सवार भएजस्तै छ ।

चीनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल नेपाल आएर उच्चस्तरीय भेटघाट गरे लगत्तै प्रचण्डलाई भारत बोलाइनु अरु केही नभएर आगामी निर्वाचनबाट आफ्नो प्रधानमन्त्री बन्ने बाटो बन्द हुने त्रासले आरजुले राखी बाँधेको नाताले माइती बनेकासँग हारगुहार गरेपछि सम्भव भएको चर्चा त्यसै चलेको होइन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिए पनि मोदीका दाहिने हात मानिने अजित डोभाल र एस जयशंकरसंग प्रचण्डको वान टु वान र सामूहिक छलफल भएको छ ।

सो छलफल र भेटमा आरजु र प्रचण्डलाई आधा-आधा कार्यकाल प्रधानमन्त्री हुनका लागि निर्वाचनमा गठबन्धन गर्ने अनि त्यस कार्यमा भारतीय पक्षले पनि सघाउने सहमति भएको बताइन्छ । केही अघिको काँग्रेसको केन्द्रीय समिति बैठकले पनि गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको छ । स्थानीय निर्वाचनमा गठबन्धनको विपक्षमा रहेका काँग्रेसका नेताहरू पनि प्रदेश र संघीय निर्वाचनमा गठबन्धनकै पक्षमा देखिएका छन । तर, काँग्रेसले आफ्नो पार्टीको एकल बहुमत आउने गरी गठबन्धन गर्ने निर्णय गरेको छ ।

प्रचण्डको शनिवारको अभिब्यक्ति काँग्रेसले आफूलाई बहुमत राखेर हैन, बराबरीको हिस्सा दिनुपर्ने खालको रहेको छ । यसको सिधा अर्थ हो, काँग्रेसले आफूले जित्ने ठाउँमा पनि गठबन्धनको नाममा माओवादीलाई सघाउनु पर्नेछ । गठबन्धन वा तालमेलको कुरा गर्दा जननेता मदन भण्डारीको भनाई स्मरण गर्नु उपयुक्त हुन्छ । जतिबेला तत्कालिन मालेका प्रवक्ताका रूपमा उहाँ सार्वजनिक हुनुभएको थियो र मनमोहन अधिकारीको नेतृत्वको नेकपा (मार्क्सवादी) सँग एकता भइसकेको थिएन र एमाले बनिसकेको थिएन ।

२०४८ सालको निर्वाचनमा वामपन्थी पार्टीबीचको गठबन्धन र तालमेलको कुरामा जननेता भण्डारीले भन्नुभएको थियो, ‘हाम्रो पार्टी बामपन्थी गठबन्धन र चुनावी तालमेलका लागि अत्यन्त हार्दिक छ, लचिलो छ । तर, यसको अर्थ नेकपा (माले) ले आफ्नो झोलीबाट अरूलाई भिक्षा दिई हिड्न सक्दैन । लचिलोपनका नाममा आफै खरानी घसेर हिड्नु पर्ने गरी दान दिन, उदार हुन नेकपा (माले) तयार छैन । किनभने हामीले धरहरा चढेर हेर्नुपर्छ साथीहरू कहाँ छन् भनेर ।’

तत्कालिन अवस्थामा मदन भण्डारीको यो भनाईको निकै आलोचना भएको थियो । तर, निर्वाचनले प्रमाणित गर्यो एमालेले साच्चै धरहराबाटै हेर्नु रहेछ अन्य वाम दललाई ।अहिले काँग्रेससँगको माओवादी र एकीकृत समाजवादीको गठबन्धन पनि त्यही स्तरको हो । अब प्रश्न उठ्छ के जननेता मदन भण्डारीभन्दा उदार हुनसक्ला काँग्रेस ? उसले आफ्नो झोलीबाट माओवादी र नेकपा एकीकृत समाजवादीलाई चित्तबुझ्दो भिक्षा दिन सक्ला ?

सो पार्टीका नेता देउवा त जम्माजम्मी आफ्नो कुर्सी बचाइदिए सबैथोक गर्न तयार हुन्छन भन्ने इतिहासले नै प्रष्ट पारेको छ । प्रधानमन्त्रीका पदका लागि पार्टी फुटाउने, निर्वाचन हुन नसक्ने अवस्था भए पनि संसद भंग गरेर प्रजातन्त्रलाई राजाको पाउमा सुम्पने उहाँको विगत हो । तर, आफूलाई प्रधानमन्त्रीको दावेदार ठान्ने शेखर कोइराला, गगन थापालगायतका नेताहरू तयार हुनुहोला ?