काठमाडौं, साउन १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार माफियाको भएको प्रमाणित भइसकेको ठोकुवा गर्नुभएको छ । भ्रष्टाचार र महंगीविरुद्ध एमालेले राजधानीमा आज गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार खुलेरै माफियाको पक्षमा लागेको तथ्य बाहिर आइसकेको बताउनु भयो ।
‘यो सरकारले जनतालाई भ्रष्टाचार दियो, महंगी दियो, मुलुकमा लुटपाट मच्चायो, अहिले तथ्यहरुले नै यो सरकार माफियाको सरकार हो भन्ने कुरा प्रमाणित भइसकेको छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘अव यो संसदलाई बिघटन गरेर जनताको बीचमा जानुपर्छ । राष्ट्रको हितमा प्रतिनिधित्व गर्ने सरकार होइन, जनताको हितमा प्रतिनिधित्व गर्ने सरकार होइन, बजेट ब्यापारिका एजेण्ट राखेर बनाउने काम गरियो, यस्ले के देखाउँछ भने यो सरकार जनताको सरकार होइन, यो सरकार माफियाको सरकार हो भन्ने प्रमाणित भएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले बर्तमान सरकारको भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउन बाध्य हुनुपरेको पनि बताउनु भयो । ‘आउने चुनावमा हामी गठबन्धनलाई दण्डित गर्नैछौं, चुनावी मैदानमा पराजीत गर्ने छौं,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै थप्नुभयो, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’

एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको तथ्य पनि महासचिव पोखरेलले राख्नुभयो । बर्तमान सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको पनि पोखरेलले बताउनु भयो । ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ,’ पोखरेलले भन्नुभयो, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा अपराधीकै रुपमा रहेको पोखरेलले बताउनु भयो । ‘जनताले घातक व्यक्तिका रुपमा चिनिएका छन् । जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्छ,’ पोखरेलले भन्नुभयो ।

उहाँले बर्तमान सरकार रहिरहे मुलुक श्रीलंका बन्ने खतरा रहे पनि नेकपा एमालेले जोगाएरै छाडने बताउनु भयो । ‘अव जनता राष्ट्रघात गर्नेहरुलाई छोडने पक्षमा छैनन, हामी छाडने पक्षमा छैनौं, आगामी चुनावमा हामी जनमतबाट बदला लिएर छाडने छौं,’ महासचिव पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्