जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ०९:००

युवती प्रयोग गरी पहिला मायाजाल, अश्लिल भिडियो बनाएर ब्ल्याकमेलिङ


झापा, साउन ८ । युवतीलाई प्रयोग गरेर व्यवसायीसँग असुली धन्दा चलाइरहेको एक समुह पक्राउ परेको छ । बिर्तामोडका एकजना व्यवसायीलाई मायाजालमा पारेर बन्धक बनाइ रकम असुल गर्न खोज्ने एक युवतीसहित चार जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। अभियुक्त सार्वजनिकसँगै पूर्वमा निकै डरलाग्दा आपराधिक घटना बाहिर आएको छ ।

घटना बिवरणअनुसार असार २८ गते बिर्तामोडका नाम चलेका एकजना व्यवसायीलाई नचिनेको नम्बरबाट इमोमा फोन आयो। फोन गर्ने युवती थिइन । दुबैबीच परिचय भयो। मिठो स्वरमा फोन गरेकी युवतीबाट ती व्यवसायी केही समयमै प्रभावित भए । यति सम्मकी उनी ती युवतीले भनेअनुसार काम गर्न थाले। अव युवती होइन, व्यवसायी आफैं ती युवतीलाई फोन गर्न थाले। मोबाइल नम्बरमा, इमो, भाइबर र ह्वाट्सएप चारैतिर उनीहरूको सम्पर्क भयो। उनीहरूबीच प्रेमका कुरा चले, यौनका विषयमा पनि उनीहरू खुले।

साउन १ गते युवतीले आफू बिर्तामोडको भद्रपुर रोड आइसकेको भन्दै व्यवसायीलाई भेट्ने इच्छा देखाएर फोन गरिन्। युवतीले भेट्न बोलाएपछि व्यवसायी पनि उनले बताएको स्थानमा पुगे। १९/२० वर्षकी ती युवतीलाई भेट हुने बित्तिकै व्यवसायीले होटल जाने प्रस्ताव गरे। असुरक्षा हुने भन्दै युवतीले त्यो प्रस्ताव मानिनन । भद्रपुर रोडमै साथीको कोठा भएकोले त्यहीँ जाने प्रस्ताव उनले राखिन्। व्यवसायी उनको प्रस्तावमा राजी भए। उनीहरू कोठामा पुग्दा त्यहाँ कोही थिएनन्। बेलुका ८ बजे उनीहरू ढोकामा चुक्कुल लगाएर बसेका थिए। यत्तिकैमा कसैले ढोका ढक्ढक्यायो।

ढोका खोल्नासाथ हातमा छुरा बोकेका दुईजना युवाले व्यवसायीलाई कुटपिट गर्न थाले। छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै उनलाई कोठाभित्र बन्धक बनाइयो। नाटकीय ढंगबाट किशोरीलाई त्यहाँ रहेका मध्ये एक युवाले बाहिर लगेर छाडिदिए । उनी थिए मिराज खान । त्यतिबेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले ब्यापारीको नाङ्गो फोटो र भिडियो तयार गरिसकेका थिए ।अभियुक्तहरुले साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ दिने शर्तमा व्यवसायीलाई त्यहाँबाट मुक्त गरे । उनीहरुले रकम जम्मा हुँदै गरे नगरेको बारेमा लगातार ताकेता गरिरहे ।

पैसा नदिए ज्यान मार्ने धम्की समेत दिए। युवतीको बिश्वास गर्दा फसेका ती व्यवसायीको त्यति ठूलो रकम दिने अवस्था थिएन। उनले इलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत विवरण बताए। त्यसपछि प्रहरीले घटनामा संलग्नहरूको खोजी सुरु गर्‍यो। पीडितलाई फोन आएका मोबाइलमा सम्पर्क गरेर साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका को मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकरलाई प्रहरीले पक्राउ गर्‍यो। त्यसलगत्तै ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गर्‍यो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाका अनुसार पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अभियुक्तहरूले बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टीको गल्लीभित्र एउटा घरको चारतला फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आएको पाइएको छ ।