जनता टाइम्स

१७ श्रावण २०७९, मंगलवार २२:२९

कपुरकोटका उपाध्यक्षको दादागिरी, चुनाव खर्च उठाउन आतंक


काठमाडौं, १७ साउन । सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले चुनाव खर्च उठाउन आतंक मच्चाएको गुनासो रहेको छ । स्थानीय तह निर्वाचनमा माओवादीबाट उपाध्यक्ष निर्वाचित भएका भण्डारीले सल्यानको कपुरकोट जान रोल्पा सिमेन्ट, घोराही सिमेन्ट र सम्राट सिमेन्टले निर्माण गरेको सडकमा दुई महिनादेखि कम्पनीका गाडी संचालनमा रोक लगाएका उद्योगीले गुनासो गरेका छन् ।

भण्डारीले एकराज वली र सन्तोष बुढाथोकी प्रयोग गरेर सडकमा कम्पनीका गाडी संचालनमा रोक लगाउनुभएको स्थानिय बासीले बताएका छन् । खासमा कपुरकोट जान रोल्पा सिमेन्टले आफ्नै लगानीमा सडक निर्माण गरेको थियो । निर्वाचन अघिसम्म सडकमा गाडी संचालनमा कुनै रोकतोक थिएन । तर निर्वाचनपछि उपाध्यक्ष भण्डारीले भाडाका मान्छे प्रयोग गरी चुनावी खर्च उठाउन गाडी संचालनमा रोक लगाएको आरोप लागेको छ । उहाँ कपुरकोटको अध्यक्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष भने सडक गाउँपालिकाको विकासमा सहयोगी भएको भन्दै रोक लगाउन नहुने पक्षमा हुनुहुन्छ ।

तर उपाध्यक्ष भण्डारीले भने रोक लगाउनुभएको छ । उहाँले तीन कम्पनीले २० लाख रुपैयाँ नदिँदासम्म गाडी संचालन गर्न नदिने बताएपछि उद्योगीले दुई महिनादेखि टिपर संचालन गर्न पाएका छैनन् । आफैंले निर्माण गरेको सडकमा गाडी संचालन गर्न नपाएपछि दैनिक लाखौंको नोक्सानी बेहोनुपरेको उद्योगीको गुनासो छ । खासमा सिमेन्ट उद्योगले चुनढुंगा ओसारपसार गर्न आफ्नै लगानीमा सडक निर्माण गरेको हो ।

भण्डारीले अरुसँग कुरा गर्दा सडक राम्रो नभएकाले रोकेको बताउने गरेका छन् । केन्द्रमा गठबन्धनको सरकार भएकै कारण भण्डारीले दादागिरी गरेको पाइएको छ । अहिले मुलुकमै उत्पादित सिमेन्ट उद्योगले विदेश निर्यात गर्न समेत सुरु गरेका छन् । यसरी विदेशी मुद्रा भित्राउन लागिपर्ने उद्योगीलाई गुण्डागर्दैशैलीमा हतोत्साही गर्नेमाथि कारबाही गर्नुपर्ने होइन र रु उपाध्यक्ष भण्डारीले सामाजिक मर्यादा ख्याल नगरी उद्योगीलाई धम्काउनु गलत भएको स्थानीयले बताउदै आएका छन्।