जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:५५

सृजनशिल र देशका लागि योगदान गर्ने काममा जुट्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन


ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण

काठमाडौं, साउन ८

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंया हस्तान्तरण गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समुह केडिया ग्रुपले १५ लाख रुपैंया हस्तान्तरण गरेका हुन् ।

राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।”

राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक टे«ड यूनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताउनुभएको छ । “कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो,– “हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन” । अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ । ”

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारको यस अभियानलाई साथ दिन कर्मचरीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गर्नुभएको छ । “सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन् ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।”