जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १५:१२

प्रधानमन्त्री निर्दोष, प्रधानन्यायाधीश मात्र दोषी हुने हुँदैन : शंकर पोखरेल


विराटनगर, साउन २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धन सरकार नेपाली जनताको लागि अभिशाप सावित भइसकेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले यो सरकार लामो समयसम्म रहे देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने भन्दै चिन्ता जनाउनु भयो ।

‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको थियो तर अहिले खर्बौ ऋणमा पुगेको छ,’ महासचिव पोखरेलले भन्नुभयो । उहाँले महंगी बृद्धिमा पनि सरकारकै दोष रहेको बताउनु भयो । महासचिव पोखरेलले भन्नुभयो, ‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ । पूँजीगत खर्च लज्जास्पद छ । जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ । बजेट निर्माणका क्रममा जे जस्ता हर्कत भएका कुराहरू बाहिर आए, त्यो एकप्रकारको राष्ट्रघात हो । यसले माफियातन्त्रलाई अझ भनौं दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको देखिन्छ ।’

दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि ल्याएको छैन भन्दै उहाँले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताउनुभयो । मासचिव पोखरेलले भन्नुभयो, ‘नीतिगत नेतृत्व गर्नसक्ने तागत एमालेसँग मात्रै छ । कांग्रेसले त नीतिगत नेतृत्व नै गुमाइसकेको छ, गठबन्धन त स्वार्थका लागि मात्र बनेको हो ।’

महासचिव पोखरेलले परमादेशबाट बनेको अहिलेको सरकारलाई जनादेशबाट फाल्नै पर्ने बताउनु भयो । ‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ । निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले चुनावको मिति घोषणा भएपछि संसदको भूमिका निष्कृय हुने भए पनि सङ्कटको बेला काम लाग्छ भनेर जोगाएर राखेको बताउनुभयो । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग राम्रो नियतले नलगाइएको भन्दै उहाँले यसको छिनोफानोमा सत्तापक्षको व्यवहार चरम लापरवाहीपूर्ण रहेको बताउनुभयो ।

‘फैसलाहरू स्वार्थमा आधारित, लेनदेनमा आधारित भयो भन्ने अर्थमा प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । त्यो त सौदाबाजी हो । त्यसमा त दुई पक्ष हुन्छ,’ महासचिव पोखरेलले भन्नुभयो, ‘त्यस अर्थमा दोषी एउटा मात्र हुँदैन । प्रधानमन्त्री निर्दाेष हुने प्रधान न्यायाधीश मात्र दोषी हुने हुँदैन । एउटालाई दोषी देखाएर अर्को पानीमाथिको ओभानो बन्ने गठबन्धनका नेताहरूको प्रयास गलत हो ।’