जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १६:२२

पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक


काठमाडौं, २३ साउन । पार्टीको १४औं महाधिवेशनलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्ने निर्णय गर्नुभएको थियो । सो निर्णलगत्तै कांग्रेसको पदाधिकारीदेखि केन्द्रीय समिति बैठकसमेत पार्टी कार्यालय सानेपामा बस्न थालेको थियो ।

असारसम्म पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालयमा हुने बैठकमा सहभागी हुने गर्नुभएको थियो । प्रायः बैठक उहाँले सानेपामै बस्ने गरी डाक्नुभएको थियो । तर, अहिले फेरि उहाँ पुरानै बाटोमा फर्किनुभएको छ । अर्थात् पार्टीको बैठक बालुवाटारमै डाक्न थाल्नुभएको छ ।

जसअनुसार आज कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टीको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेपनि पार्टी सभापति देउवाले आज पहिलेको निर्णय लत्याउनुभएको छ ।

स्रोतका अनुसार पार्टी उपसभापति पूर्णबहादुर खड्का कोरोना संक्रमित भई निवासमै आइसोलेसनमा बसेपछि देउवाले बालुवाटारमा पदाधिकारी बैठक राख्नुभएको हो । यसअघिका सबै बैठकमा देउवाले उपसभापति खड्कालाई आवश्यक निर्णय गर्ने जिम्मेवारी दिनुभएको थियो ।