जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १६:३३

कमरेड पुष्पलालको त्यो स्वाभिमान, आफ्नैबाट भएको यो अपमान


नेत्रप्रसाद नेपाल

कमरेड पुष्पलाल र नयाँ जनवादी क्रान्ति एक अर्काक‍ो परिपुरक वा पर्याय हुन् । रामेछापको भँगेरीमा विसं १९८१ साल असार १५ गते भक्तलाल श्रेष्ठ र तुलसीमाया श्रेष्ठको माइला छोराको रुपमा जन्मनु भएका पुष्पलाल सानैदेखि क्रान्तिकारी स्वभावका हुनुहुन्थ्यो । कमरेड पुष्पलाल केही समय नेपाली काङ्ग्रेसको कार्यालय सचिव समेत हुनुभएको थियो । षुष्पलाल महान शहिद गंगालाल श्रेष्ठका भाई समेत हुन्। यी महान नेता काङ्ग्रेसबाट समाज परिवर्तन नहुने ठहर गरी नेपाल र नेपालीको आमुल परिवर्तन गर्ने उदेश्यसहित कम्युनिस्ट घोषणापत्र अधययन गर्न थाल्नु भयो । २००५ सालमा कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरी प्रकाशित गर्नुभयो ।

२००६ साल वैशाख १० गते कलकत्ताको श्यामबजारमा आफ्नो अगुवाइमा नारायणबिलाश जोशी, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्यसहित पाँच जनाले नेपाली जनताको लागि नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु भयो र पार्टीको संस्थापक महासचिव हुनु भयो । आफ्नो नीति कार्यक्रम पास हुँदाहुँदै पनि उहाँ दोस्रो महाधिवेशनमा महासचिव बन्न पाउनु भएन । तेस्रो अधिवेशनबाट पार्टीमा गुटफुट सुरु भयो, विभिन्न समुहमा यो छरपस्ट भयो । ०१७ सालमा राजा महेन्द्रले सैनिक कु मार्फत देशमा पञ्चायती व्यवस्था स्थापना गरे त्यतिबेला कमरेड पुष्पलालले संयुक्त जनआन्दोलन र संसद पुनर्स्थापनाको आवाज बुलन्द पार्नु भएको थियो तर सत्ता गुम्दा पनि कम्युनिस्ट संग मिल्न नहुने विपीको नकारात्मक चिन्तनका कारण काङ्ग्रेस मानेन ।

काङ्ग्रेसको महासचिव समेतले राजालाई साथ दिए काङ्ग्रेसको सांसदहरू बिक्री भए ।२०२५ सालमा कमरेड पुष्षलालले संयुक्त जनआन्दोलन सम्बन्धि कार्यक्रम ल्याउनु भयो । यसलाई याहाँका आफूलाई वामपन्थी भन्ने नेताहरुले गद्दार पुष्पलाल भनेर लखेट्ने काम गरे । उहाँको विचार सहि थियोे जन अधिकारको लागि थियो तर पनि याहाँका आफुलाइ वामपन्थी भन्नेहरुले खेदिरहे । राजा महेन्द्रको निर्दलीय निरङ्कुस पञ्चायती व्यवस्थाले सबै दललाई प्रतिबन्धित गर्यो । पुष्पलाल भारत निर्वासित हुनुपर्ने बाध्यता आयो ।भारतमै बसेर संयुक्त जन आन्दोलनको कुरा ल्याउनु भयो, जनताको पक्षमा आवाज उठाइ रहनु भयो । बहुदलीय व्यवस्था ,जनअधिकार, जनजिविकाको पक्षमा आवाज उठाउँदा उठाउँदै २०३५ साल श्रावण ०७ गते बल्लभभाइ पटेल अस्पताल दिल्लीमा उहाँको उपचार गर्दागर्दै निधन भयो ।

उहाँको शव समेत निर्दलिय पञ्चायती शासकले नेपाल ल्याउन दिएनन । दिल्लीमा नै अन्तिम संस्कार गरियो । नेकपा स्थापना गर्दा नेकपाको घोषणापत्रमा पुष्पलालले क्रान्तिकारी भुमिसुधार, श्रमजीवी जनताको पक्षमा काम गर्ने कुरा सामन्तवाद ,साम्राज्यवाद विरोधी शक्तिको सरकार निर्माण गर्ने विदेशी शोषण दमन हस्तक्षेप समाप्त पारी स्वाधीन ,स्वतन्त्र नेपाल निर्माण गर्ने, वालिग मताधिकार नागरिक स्वतन्त्रता पुर्ण प्रजातान्त्रिक व्यवस्था निर्माण गर्ने कुरा लेख्नु भएको छ। कम्युनिस्ट पार्टीमा नेता प्रधान होइन निति प्रधान व्यक्ति होइन पार्टी प्रधान हुनुपर्छ भन्ने पुष्पलालको पार्टी आज नेपालको सत्तामा छ । पार्टी विशाल छ, उहाँले भनेजस्तै नेकपा एक छ, दुईतिहाइ बहुमत संसदमा छ ।

आज पुष्पलाल हुनु भएको भए कति खुसी हुनुहुन्थ्यो होला ? हिजो गद्दार भनिनु भएको पुष्पलाल आज महानायक हुनुहुन्छ ,उहाँका चेलाहरुको देशमा शासन छ, कमरेड केपी ओलीले कमरेड पुष्पलालले भने जस्तै श्रमजीवी जनताको हितमा काम गर्ने बेला भएको छ । पुष्पलालले भने जस्तो क्रान्तिकारी भुमिसुधार गर्नुपर्यो, नेकपाका तमाम नेता कार्यकर्ताले पनि वर्तमान सरकारलाई पुष्पलालको मार्गदर्शनमा उहाँले देखाउनु भएको बाटोमा हिंड्न प्रेरणा, सल्लाह राय सुझाव दिनु पर्छ । नेपाल र नेपाली जनताको समुन्नतितर्फ देशलाई डोर्‍याउन होस्टेमा हैंसे गरे मात्रै देश बन्छ । आफ्नै पार्टीको सरकारविरुद्ध प्रचारप्रसार गर्ने नकारात्मक कुरा पुष्पलालप्रतिको घोर आपमान हो । त्यस्तो कामले पुष्पलालप्रति घोर अपमान हुनजान्छ ।

बर्षमा एक दिन चम्पादेवीमा पुष्पलालको शालिक अगाडि उभिएर राम्रा राम्रा लुगा लगाएर मुठ्ठी कस्दैमा, गाडीको ताँती लगाएर हिंड्दैमा पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुँदैन । उहाँको सम्मान गर्ने हो भने नेकपाका नेताहरु गलगाँडहरु बोक्न छोड्नुस । निति प्रधान, नेतृत्व प्रधान, व्यक्ति होइन, पार्टी प्रधान पार्टी निर्माण गर्ने अठोट गर्नुस । कार्यकर्ताले पनि अठोट गरौं बलियो, शसक्त नेकपा वर्ततमान नेकपाको सरकार र कार्यकर्ताको जनपक्षीय,कामले नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।।तसर्थ आउनुस नेकपाको सरकार बलियो बनाउन सबै मिलौं सरकार बलियो बनाऔं र हामी सबैले भनौं कमरेड पुष्पलाल अमर रहुन । हामी सबैले शिर निहुराएर कसम खाउँ सबै व्यक्तिगत स्वार्थ त्याग्ने, म र मेरो त्याग्ने काम नै हुनेछ कमरेड पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जली । अस्तु ।

(लेखक नेकपा धादिङ जिल्ला संगठन कमिटी सदस्य हुन )