जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १४:३३

काठमाडौं महानगरलाई नर्भिक हस्पिटलको जवाफ : संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ


काठमाडौं, साउन २४ । नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ ।

काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले उक्त जग्गा खाली गर्नुनपर्ने बताउनु भयो । २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै सिंहले सम्झौतापत्रसमेत सार्वजनिक गर्नुभयो ।

काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले सम्झौतापत्र नै सार्वजनिक गरेर जग्गा खाली नगर्ने बताएको हो । पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिनुभयो ।