जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १४:०९

ठुला व्यवसायमा शेयर छैन, कसैसँग पैसा मागेको प्रमाणित गरे राजनीति नै छोड्छु : महेश बस्नेत


भक्तपुर, २५ साउन । सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि व्यवसायमा लगानी नरहेको स्पष्ट पार्नुभएको छ । भक्तपुरका हरेक ठुला व्यवसायमा आफ्नो लगानी रहेको भ्रम फैलाइएको भन्दै पूर्व मन्त्रीसमेत रहनुभएका उहाँले सो स्पष्टीकरण दिनुभएको हो । मध्यपुर सञ्चार समाजद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई नयाँ थिमीमा सम्बोधन गर्दै सांंसद बस्नेतले आफू पैसा कमाउन राजनीतिमा नआएको जिकिर गर्नुभयो ।

उहाँले आफू र आफ्नो परिवारको नाममा व्यवसायिक लगानी प्रमाणित गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो,‘मेरो वा मेरो परिवारको नाममा कहिँकतै व्यवसायमा लगानी प्रमाणित भए म उसैलाई हस्तान्तरण गर्नेछु ।’ चुनाव नजिकिएसँगै आफूलाई फसाउने किसिमले बजारमा भ्रम फैलाइएको उहाँको दावी थियो । कसैले पैसा खाएको वा मागेको प्रमाणित गरिदिए सार्वजनिक पद धारण नगर्ने मात्र नभई राजनीति नै नगर्ने समेत उहाँले उद्घोष गर्नुभयो ।

आफ्नो कार्यकालमा भक्तपुरमा इतिहासकै धेरै बिकास निर्माणका कार्य भएको भन्दै आफ्नो पहलमा अर्बौंको बजेट ल्याइएको उहाँको दाबी छ । उहाँले थप्नुभयो,‘केहि वर्ष अघि काठमाडौं हेरेर थुक निल्नुपर्थ्यो, अहिले भक्तपुर हेरेर काठमाडौंले थुक लिल्नुपर्ने अवस्था आएको छ ।’ नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य समेत रहनुभएका उहाँले ‘राजनीतिमा प्रतिस्पर्धा तर बिकासमा ऐक्यबद्धता’ भन्ने आफ्नो अभियान भएपनि राजनीतिक दलहरुले आफ्नो खुट्टा तान्ने प्रयास मात्र गरेको आरोप लगाउनुभयो ।

उहाँले नेमकिपाले कुरा नबुझ्दा अन्तर्राष्ट्रिय खेल मैदान बनाउन नदिएकोलगायत गुनासो पनि गर्नुभयो । आफ्नै पार्टीका केही नेता र जनप्रतिनिधि नै आफ्नो विरुद्ध लागेर काम गर्न नदिएका र बजेट फ्रीज गरिदिएको उहाँले खुलासा गर्नुभयो ।कार्यक्रममा सांसद बस्नेतले विभिन्न व्यक्तिहरुले हडपेका सयौं रोपनी सार्वजनिक जग्गा आफ्नो पहलमा फिर्ता ल्याइएको, निस्वार्थ ढंगले हनुमन्ते र मनोहरा करिडोरको काम गरिएको बताउनुभयो ।

उहाँले भक्तपुरलाई आर्थिक, साँस्कृतिक र पर्यटकीय गन्तव्यस्थल बनाउन पहल गरिएको र बिना भेदभाव आवश्यकताको आधारमा बजेट बिनियोजन गरिएको जिकिर गर्नुभयो । आफूले पार्टीगत पूर्वाग्रह नराखी भक्तपुरबासीको लागि सदैव सहयोगको हात अघि बढाएको भन्दै २०७० को निर्वाचनमा पराजित भएर पनि जनताको काम गरेवापत २०७४ मा जनताले जिताएको स्मरण गर्नुभयो । उक्त मतको कदर गर्दै जनताको सेवालाई मूलमन्त्र बनाएर अघि बढिरहने प्रतिवद्धता थियो ।