जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १६:५९

देउवा बिचलित बनेको भन्दै पूर्वजिल्ला सभापतिले नै छाडे कांग्रेस


डडेल्धुरा, साउन २५ । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी) मा प्रवेश गर्नुभएको छ । बुधबार कांग्रेस (बिपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो ।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका ७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न कांग्रेस बिपी जिल्ला कार्यसमितिको पार्टी कार्यालय किसुनजी भवनमा पुग्नुभएको थियो ।

चन्दले २०२९ सालमा नेविसंघबाट राजीनितिक यात्रा सुरु गर्नुभएको थियो । २०३६ सालमा कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लाग्नुभएका चन्द २०४६ सालको जनआन्दोलमा जेलसमेत पर्नुभएको थियो । २०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बन्नुभएका चन्द २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

प्रजातन्त्र प्राप्तपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति चन्द २०५९ सालमा कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत हुनुभयो। तर, कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उहाँ निष्क्रिय रहनुभएको थियो । बिपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई नेपाली कांग्रेस बिपीको विधान आत्मसात गरी आवद्धता जनाएको उहाँको भनाइ छ।