जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार ०६:०३

बाढी पहिरोले दर्जनौं मुख्य सडक अवरुद्ध : कान्तिपथमा मात्रै ५१ ठाउँमा अवरोध


काठमाडौं, साउन ९ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पुर्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ ।

देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो । वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्तिपथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो ।

सडक विभागको बुधबारको तथ्यांकअनुसार मिर्चैया–कटारी–घुर्मी सडकखण्ड गएको पहिरोका कारण २६ असारदेखि अवरुद्ध छ । अझै सडक सुचारु हुन चार/पाँच दिन लाग्ने सडक विभागले जनाएको छ । ललितपुरको गोदावरी–फुलचोकी सडक पनि २८ असारदेखि बन्द छ । सडक विभागले केही ठाउँमा सुचारु भए पनि केही ठाउँमा बन्द रहेको जनाएको छ । ललितपुरकै छम्पी–टीकाभैरवमा पनि पहिरो आएर २८ असारदेखि सडक अवरुद्ध छ । ललितपुरकै सातदोबाटो, सुमेरु हस्पिटल नजिकै सडक भासिएर एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।

यस्तै रुकुमको भेरी करिडोरको पिपे भन्ने ठाउँमा पनि पहिरो गएको छ । सुर्खेतको तल्लो ढुंगेश्वर सिपाकोटमा आठ किमीको सडकमा बुधबार पहिरो गएर सडक अवरोध भएको छ । पूर्ण रूपमा बाटो खुल्न दुई दिन लाग्नेछ । पुष्पलालाल ९मध्यपहाडी० राजमार्गस्थित रुकुमकोटको रेलीखोला पुलको डाइभर्सनमा क्षति पुगेको छ । त्यस्तै, दोस्रो स्पानको स्टेजिंगको इमबेंकमेन्टमा पनि २८ असारदेखि क्षति पुग्दा अवरुद्ध छ ।

कान्ति लोकपथमा मात्रै वर्षापछिको बाढी पहिरोले ५१ ठाउँभन्दा बढी स्थानमा अवरोध सिर्जना भएको छ । मकवानपुर गढीमा २७ असारदेखि यातायात बन्द रहेको छ । करिब ९० किमि लामो कान्तिपथमा करिब ४० किमि कालोपत्रे छ भने अन्य भाग निर्माणधीन अवस्थामा छ । सोही सडकको ५१ स्थानमा पहिरोले अवरोध सिर्जना गरेको छ ।