जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार ०७:०२

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह


काठमाडौं, २६ साउन । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ । दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ । अन्य क्षेत्रमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसैबीच, काठमाण्डौको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा अहिले चापमा गाडी चलिरहेका छन् ।

अघि बिहान साढे ४ बजेतिर झ्याप्ले खोलामा गाडी बिग्रिएकाले एकतर्फी रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । बिग्रिएको गाडी हटाउन क्रेन गइसकेकाले केहीबेरपछि दुईतर्फी नै सडक खुल्ने प्रहरीले जनाएको छ ।