जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १३:४६

हार्ने भएपछि मातृका–गिरिराजमणिले गरे मिलेको नाटक : प्रचण्डको तेस्रो गुट सक्रिय


जनकपुर, साउन २६ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलका स्वकीय सचिव मोहन तामाङले साउन २२ गते फेसबुकमा एउटा तस्विर सार्वजनिक गर्दै लेखे, ‘नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्यद्वय क. गिरिराजमणी पोखरेल र क. मातृका यादव, वीरगञ्जमा पर्सा जिल्लाका केस/प्रसस कमरेडहरुसँग छलफल पश्चात ।’

यो तस्विर सार्वजनिक भएपछि अन्य पार्टीका मात्र होइन, माओवादीका नेता–कार्यकर्ताहरु नै आश्चर्यमा परेका छन । पोखरेल र यादवको ४० बर्षभन्दा लामो राजनीतिक जीवनमा एकै स्थानमा सौहार्दपुर्ण छलफलपछि तस्विर खिचिएको सम्भवत यो नै पहिलो हो । राजनीतिक जीवनमा कहिल्यै सौहार्दपुर्ण सम्बन्ध र सहयात्रीको व्यवहार नगरेका मात्र नभई एकले अर्कालाई शत्रुतापुर्ण व्यवहार गर्ने यी दुई नेता अहिले किन एकै ठाउँमा आए ? सबैले प्रश्न गर्दै आफैं उत्तर दिने गर्दछन, ‘हार्ने भएपछि दुवैजना मिल्न बाध्य भए ।’

मधेस प्रदेशमा माओवादी बिगतको तुलनामा असाध्यै कमजोर भएपछि शत्रुतापुर्ण व्यवहार गर्ने यी दुई गुटका नेता मिलेका हुन । मधेसमा कांग्रेसको तुलनामा कम्युनिष्ट पार्टी बिगतदेखि नै कमजोर थियो । त्यसमा पनि नेकपा एमाले झन कमजोर थियो । मधेसमा बिगतमा एमाले माओवादीभन्दा कमजोर थियो । माधव नेपालको गुटगत कार्यशैलीले मधेस प्रदेशमा एमाले कमजोर बनेको हो । मधेस प्रदेशलाई नेपालले बिर्ता सम्झेर काम गर्ने गर्नुभएको थियो । त्यसको पुष्टि केही महिना अघि भएको निर्वाचनले गरिसकेको छ ।

अहिले एमाले मधेस प्रदेशमा सबै क्षेत्रमा कांग्रेसलाई टक्कर दिन सक्ने र धेरै क्षेत्रमा कांग्रेसभन्दा पनि अघि छ । माधव नेपालले कमजोर बनाएको एमालेले शक्ति आर्जन गरेको छ भने माअ‍ोवादी अकल्पनीय ढँगले कमजोर बनेको छ । अघिल्लो निर्वाचनमा २१ स्थानीय तहमा जितेको माओवादी अहिले नेपाली कांग्रेसको शरणमा लम्पसार परेर महागठबन्धन गर्दा पनि ९ स्थानमा खुम्चिएको छ ।

स्थानीय तहमा माअ‍ोवादी यति धेरै कमजोर बनेपछि पोखरेल र यादव पनि हारको मनस्थितिमा पुगेर आफ्नो निर्वाचन क्षेत्र बचाउन मिल्नुभएको माओवादी कार्यकर्ताकै भनाई छ । माओवादी कमजोर भए पनि पोखरेलको क्षेत्रमा माओवादी एकजुट भएमा र अरु कसैसँग तालमेल भएमा जित्न सक्ने अबस्था छ । महोत्तरी १ मा नेपाली कांग्रेस र एमाले पनि तुलनात्मक रुपमा कमजोर नै देखिन्छ । मधेसवादी पनि कँही को बलियो र कँही को बलियो छ ।

चुरे क्षेत्रमा पर्ने सो निर्वाचन क्षेत्रका जनता मधेसवादी दलका नेतालाई जित्न नदिन पनि एक हुने गर्दछन । त्यसको फाइदा उठाउँदै पोखरेलले तीन पटक निर्वाचन जितिसक्नु भएको छ । यसपटक मातृकाको गुटमा रहेका मधेस प्रदेशका गृहमन्त्री भरत साह र केन्द्रीय सदस्य राजु खडका पोखरेलको बिरुद्ध भएकोले उहाँलाई मातृकासँग मिल्नुपर्ने बाध्यता थियो । त्यसैगरी पोखरेलसँग निकट धेरै धनुषाका कार्यकर्ता पनि मातृकाको बिरुद्ध थिए । मातृका पनि तालमेल भएमा जित्न सक्ने अनुमान रहेको छ । तर माओवादी एकजुट नभई जित्न सक्ने अबस्था छैन । दुवैजनाको स्वार्थले उहाँहरु दुश्मनी भुलेर एक ठाउँ आउनु भएको हो ।

यस्तो थियो दुश्मनी ?

मधेस प्रदेश र त्यस अन्तरगतका सबै जिल्लादेखि स्थानीय तहसम्म माओवादीका दुई दुई वटा समिति सक्रिय थिए । जनमोर्चा गुटको नेतृत्व पोखरेलले गर्नुभएको थियो भने माओवादी गुटको नेतृत्व मातृकाले गर्नुभएको थियो । दुवै गुटबीच बोलचाल हुदैनथ्यो भने एकले नेतृत्व या पहल गरेको कार्यक्रममा अर्को गुटका नेता कार्यकर्ता जाँदैन थिए ।

केही महिनाअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रम नै मातृकाले बहिस्कार गर्नुभएको थियो । जनमोर्चासँग पार्टी एकता भएपछि माओवादीले संशोधनवादी जनमोर्चासँग पार्टी एकता गरेको आरोप लगाउँदै नयाँ क्रान्तिकारी पार्टी गठन गर्नुभयो । तर चलाउन नसकेपछि फेरी माओवादीमा नै फर्कनुभयो । प्रचण्डले पनि नारायकाजी श्रेष्ठ गुट अर्थात जनमोर्चा गुटलाई ठिक पार्न र भारतलाई खुसी पार्न मातृकालाई निरन्तर ठाउँ दिनुभयो ।

प्रचण्डले भारतको दलाली गर्न बेला बेला मातृकालाई काममा खटाउने गरेको धेरै तथ्यहरु खुलिसकेको छ । प्रचण्ड निकट नेताहरु मातृकाको पक्षमा लगाएर प्रचण्डकै डिजाइनमा मधेसमा जनमोर्चा गुट र मातृका गुट बनेको थियो । प्रचण्ड कहिल्यै यी दुई गुटलाई मिल्न नदिने योजनाका साथ अघि बढनु भएको थियो ।

प्रचण्डले बनाए नयाँ गुट

जनमोर्चा गुट र मातृकाको गुट मिल्ने संकेत पाएदेखि नै प्रचण्डले अर्को गुट बनाइसक्नु भएको छ । प्रचण्डले अझै पनि मातृकाको कानमा चिनी भरेर मिल्न नदिने योजना बनाउनु भएको छ । त्यसमा उहाँ सफल भए भने अहिले हुदै गरेको मेल भत्कने कार्यकर्ताको अनुमान छ । मातृका र गिरिराजमणि मिले भने प्रचण्डले नयाँ गुट चलाउने योजना बनाउनु भएको पाइएको छ ।

प्रचण्डले अजय शंकर नायक, अशोक जयसवाल, क्षेत्रबहादुर श्रेष्ठ, राजु खडका लगायतलाई मिलाएर नयाँ गुट चलाउने योजना बनाएको एक माओवादी नेताले बताए । तर प्रचण्डको प्रयास मातृकालाई जनमोर्चा गुटसँग मिल्न नदिने नै हुनेछ । सो नभएमा मात्र नयाँ गुट बनाउने र नयाँ गुटमा लागेकाहरुमार्फत अहिले पनि मातृकालाई उकास्ने काम भइरहेको बताइन्छ ।