जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १३:२७

रङ्गशाला निर्माणका लागि धुर्मुस-सुन्तलीलाई उद्योग वाणिज्य संघको ५५ लाख सहयोग


चितवन, ९ साउन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ ।

सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर रु एक करोड पुर्याउने जानकारी दिनुभयो । यसअघि नै सङ्घले रङ्गशालाका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले पनि रु दुई लाख ५५ हजार ५५५ को चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी रङ्गशालाका लागि आवश्यकपर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्श एण्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । उक्त सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्नेक्रम बढ्दन थालेकाले आफू उत्साहित भएको बताउनुभयो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्नेक्रम शुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गर्नुभयो ।

जेठ १५ गते स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम शुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ । भरतपुर महानगरपालिका वडा नं १५ मा सो रङ्गशाला निर्माण गर्न लागिएको हो । (रासस)