लमजुङ, साउन २९ । केही वर्षअघि बाँझो रहेको जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा लागेका छन् ।
मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेका किसान यतिवेला काउली, बन्दा, गोलभेँडालगायत बेर्ना जमाउन, सार्न र बिक्री गर्न व्यस्त छन् । यसअघि बजरबाट र छिमेकीसँग तरकारी किन्दै आएका भुस्मे गाउँका बासिन्दाले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । शान्ति सामाजिक परिवारका अध्यक्ष विष्णुमाया तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् ।
‘पहिले किनेर काम चलाउने गरेका थियौँ, अहिले गाउँमा आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘आफैँले तरकारी फलाउन थालेपछि आफैँले उपयोग तथा बिक्री गर्ने गरेका छौँ ।’ ०७१ सालदेखि सामान्य रूपमा तरकारी खेती गर्दै आएकी नीलमााया तामाङले अहिले ८ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरेकी छन् ।
उहाँले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उहाँले भन्नुभयो ‘पहिलेका दिनमा दुईचार पैसा देख्न रहरै हुने गर्थ्यो । तर, अहिले महिनामा ५० हजार आम्दानी हुन्छ ।’ नीलमायालाई तरकारी खेतीमा दुई छोराले समेत साथ दिएका छन् । समूहमा आबद्ध गाउँलेले फलाएको तरकारी बेँसीसहर बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।
नीलमायाजस्तै तरकारी फलाउन हौसिएकी छन् गाउँकै सुनसरी तामाङ । तरकारी खेती सुरु गरेसँगै घरखर्च र छोराछोरी पढाउन तरकारी बिक्रीबाट आएको रकमले खर्च चलाउने गरेको उहाँले बताउनुभयो । ‘तरकारी राम्रो बिक्री हुन्छ, घरखर्च र छोराछोरीलाई उच्च शिक्षा पढाउन सहज भएको छ,’ उहाँले भन्नुभयो । पहिले श्रीमानको कमाइमा मात्र भर पर्नु परेकोमा अहिले केही रकम बचतसमेत हुने गरेको उहाँले बताउनु भयो ।
गाउँका अधिकांशले घरमा दुईरदुई वटा टनेल बनाएर आफैँले तरकारीका बिउ जमाउने गरेका छन् । घरछेउको बारीमा तरकारी खेती सुरु गरेकी सुबिता तामाङ पनि तरकारी खेतीबाट राम्रो आम्दानी भएको बताउनु हुन्छ ।
बन्दा, काउली, गोलभेँडा, घिरौँला, काँक्राका बिउ जमाएको र यतिवेला काउली बन्दा पनि बिक्री भएको उनले बताइन् । ‘घरमा तरकारीको अभाव कहिल्यै हुँदैन बिक्री पनि गर्छौं,’ उहाँले भन्नुभयो, ‘जाँगर चलाउन सके तरकारीबाटै मनग्य आम्दानी गर्न सकिने रहेछ ।’
गाउँमा महिला मात्र होइन पुरुष पनि तरकारी खेतीमा लागेका छन् । गाउँकै नारायणबहादुर तामाङले ४ वटा टनेल बनाएर व्यावसायिक तरकारी खेती गरेका छन् । उनले बारीमा गोलभेँडा, खुर्सानी, काउली र बन्दा फलाएका छन् । ‘गाउँका सबै तरकारी खेती गर्न थाले मैले पनि गरेकी छु बचत पनि गर्छु,’ उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्