काठमाडौं, साउन ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरूको राजनीति प्रशंसनीय रहेको बताउनु भएको छ ।काठमाडौंमा आज आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
पछिल्लो समयमा राजनीतिमा महिलाले खेलेको भूमिका असाधारण रहेको पनि पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बताउनु भयो । उहाँले महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउनु भयो । ‘महिलाले राजनीति नगरे आधा समाजले राजनीति गर्दैन । आधा समाजले राजनीति नगरे आधा समाज पछाडि पर्छ । महिलाले जस्तो भूमिका खेलेका छन, त्यो असाधारण छ । उच्च प्रशंसा गर्न चाहन्छु,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिप्रति घृणा पैदा भएकोमा चिन्ता प्रकट गर्नुभयो । राजनीति देश बनाउने कुरा भएकाले यसलाई घृणा गर्न नहुने ओलीको भनाई छ ।
’आइ हेट पोलिटिक्स भनिन्छ नि । देश बनाउने कुरालाई घृणा गर्नुहुन्छ भने केलाई माया गर्नुहुन्छ ? राजनीति भनेको देश बनाउने कुरा हो । राजनीति जनताका समस्या समाधान गर्ने र समृद्धि गर्ने कुरा हो । राजनीति जनताहरूको सुरक्षा गर्ने कुरा हो । त्यसैले राजनीति केका लागि गर्ने र कस्तो गर्ने भन्ने महत्त्वपूर्ण हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले राजनीतिमा महिलाहरूको भूमिकाबारे प्रशंसा गर्नुभयो । राणा शासनमा नै महिलाहरूले समाजमा जागरण ल्याउने भूमिका खेलेको स्मरण गर्दै उहाँले महिलाहरूको भूमिकाप्रति प्रशंसा गर्नुभयो । साथै उहाँले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने र महिलाहरू राजनीतिमा सहभागी हुनुपर्ने सुझाव दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्