जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ०६:०३

बाढीपछि तराईमा सर्पको बिगबिगी, महिनादिनभित्रै २४८ जना सर्पदंशको शिकार


महोत्तरी, साउन १० । महोत्तरीको बर्दिबास २ का ४५ वर्षीय शिवनाथ महतोलाई गत असार १० गते सर्पले टोक्यो । वर्षाले छानो चुहिरहेको थियो। टाली मिलाउन छानोमा हात हालेका उमहतोलाई सर्पले टोक्यो। भब्सी खोलाको पुल बाढीले बगाएर यातायात अवरुद्ध थियो। बाढीले खोलाको वैकल्पिक बाटो बन्द थियो। उपचारका लागि उहाँ सर्लाहीको नवलपुरको सर्पदंश उपचार केन्द्र पुग्नुभयो तर उपचार सम्भव भएन। समयमा उपचार नपाउँदा महतोको ज्यान गयो ।

पछिल्लो पटक असार ३० गते रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको पनि विषालु सर्पको टोकाईबाट ज्यान गयो। बाढीसँगै आएको विषालु सर्पले डसेर उनको मृत्यु भएको हो । यीदुई घटना उदाहरण मात्रै हुन । पछिल्लो समय तराईमा बाढी र डुवानसँगै सर्पको बिगबिगि बढेको छ । गत एक महिनाको घटनाबाट सर्पको बिगबिगी निकै बढेको प्रष्ट देखिन्छ । प्रहरीका अनुसार असार २५ गते सर्पले डसेर अस्पताल भर्ना भएकी हरिवन नगरपालिका ९ कि अढाई वर्षीया सम्पदा बुढाथोकीको ज्यान गयो। बालिकालाई दुई ठाउँमा गोमन सर्पले टोकेको थियो।

वर्षाका कारण तराईका जिल्लामा सर्पको बिगबिगी बढेपछि स्थानीयवासी त्रसित छन्। असार २७ देखि साउन २ गतेसम्ममा प्रदेश २ का ८ जिल्लामा २४८ जना सर्पदंशको शिकार भएका इपीडीमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ । ‘सर्प बस्ने दुलोमा पानी भरिएर बाहिर निस्केको छ,’ जनस्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा भन्नुहुन्छ, ‘वर्षाले डुबानको समस्या छ। मानिसहरू घरबारविहीन छन्। साता अघिदेखि पाल टाँगेर सडक, बाँध किनारमा रात काटिरहेका छन्। सर्पको बिगबिगी बढेको छ।’ झाले रातमा बाहिर निस्कँदा टर्चलाइट लिएर मात्र निस्किन समेत सुझाउनु भएको छ । असार २७ देखि साउन २ गतेसम्ममा एक सातामा प्रदेशभरमा १५ जनालाई विषालु सर्पले टोकेको थियो।