जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १९:४७

जस्तोसुकै गठबन्धन गरेपनि मंसिर आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ : अध्यक्ष ओली


झापा, भदौ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेकोले एमालेलाई जिताउन अपिल गर्नुभएको छ ।

गृहजिल्ला झापाको तीन दिने भ्रमणको पहिलो दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले एमालेसँग एक्ला–एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको बताउनु भयो ।

कचनकवल गाउँपालिकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने ठोकुवा गर्नुभयो ।

‘कमजोरहरु गठबन्धन गर्दैछन । एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरु साँठगाँठ गर्दैछन । अपवित्र साँठगाँठको नाम हो, गठबन्धन । अहिले ८–१० वटा पुर्याउने भन्दैछन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अरु पनि मान्छे खोजे हुन्छ । त्यो गठबन्धनमा कति वटा पार्टी पुगे हामीलाई मतलब छैन । उनीहरुको गठबन्धनका पार्टीहरुसँग आज हाम्रो पार्टीमा प्रवेश गरेका जति पनि मान्छे छैनन ।’

अध्यक्ष ओलीले मंसिर ४ को चुनावमा एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई परिचालन हुन निर्देशन पनि दिनुभयो । ‘तपाईंहरु उच्च मनोबलका साथ जनताको घर जानुहोस । जनताको घरघरमा गएर एमाले सरकारले गरेका कामहरुबारे जानकारी गराउनुहोस,’ ओलीले भन्नुभयो, ‘एमालेको लक्ष्य कम्तीमा बहुमत ल्याउने हो ।’

अध्यक्ष ओलीले संविधानले व्यवस्था गरेअनुरुप सबैलाई नागरिकता दिइने बताउनु भयो । ‘नागरिकताको चिन्ता नलिनुहोस । नेपाल नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्नुपर्ने संविधानले अधिकार दिएका सबै नेपालीले नेपालको नागरिकता प्राप्त गर्छन । त्यो प्राप्त गराउने काम एमालेको हो,’ अध्यक्ष ओलीले भन्नुभयो । आज झापा आउनु भएका अध्यक्ष ओली शनिवार राजधानी फर्कने कार्यक्रम छ ।