जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १६:५६

पालिका सरकारको निर्णय : विपन्‍न परिवारको ५० युनिटसम्मको विद्युत महसुल तिरिदिने


इन्दिप कोइराला/रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाकाले देवाही गोनाही नगर क्षेत्रका करिब ७ हजार विपन्न तथा गरिब परिवारको ५० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने भएको छ ।

देवाही गोनाही नगरपालिकाले कार्यपालिका बैठकबाट नै ५० युनिटसम्मको विद्युत् महसुल तिर्ने निणय गरेको हो । देवाही गोनाही नगर क्षेत्रका गरिब, विपन्न तथा दलित परिवारको बिजुली बिल नगरपालिकाले व्यहोर्ने नगर प्रमुख प्रेमलाल साह कानुले बताउनु भयो ।

देवाही गोनाही नगरपालिकामा बसोवास गर्ने आर्थिक रुपम कमजोर भएका बिपन्न परिवार, गरिब तथा दलित समुदायहरुलाई ५० युनिटसम्म खपत विद्युत् महसुल नगरपालिकाले तिर्ने नगर प्रमुख कानुले जानकारी दिनुभयो ।

आफ्नो चुनावी घोषणापत्रअनुसार नै यो कार्यक्रम गरिएको नगर प्रमुख कानुले बताए । निःशुल्क विद्युत् योजनाको लाभ लिन स्थानीयले योजना लागु हुने समयभन्दा अगाडिको बिल भुक्तानी गरेको हुनुपर्नेसमेत उहाँले बताउनु भयो ।

जनताले आफूहरूलाई विश्वास गरेर पाँच वर्षका लागि चयन गरेको भन्दै यो अवधिमा आफूहरूले अब जनताको सुविधाका लागि ध्यान दिने नगर प्रमुख कानुले बताउनु भयो । नगर प्रमुख कानुले आफू भूमिहीन र निम्न वर्गको परिवारबाट राजनीतिमा आएको भन्दै आफूले पनि निम्न वर्गको जनतालाई सर्वोपरी ठानेर काम गर्ने जनाउनु भयो ।

५० युनिटभन्दा बढी विद्युत् खपत भएको पाइएमा सम्बन्धित् व्यक्तिले स्वयं बिल तिर्नुपर्ने देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताउनु भयो । यो सुविधा लिन मिटर रिडिङ भएलगतै सम्बधित् वडा कार्यालय वा नगरपालिकामा बिल जम्मा गराउन नगरपालिकाले अनुरोध गरेको छ ।