जनता टाइम्स

३ भाद्र २०७९, शुक्रबार १८:४०

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : योगेश भट्टराई


काठमाडौं, भदौ ३ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखसमेत रहनु भएका सचिव भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी एमालेले आगामी निर्वाचनको तयारी गरिरहेको बताउनु भएको हो ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै भट्टराईले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

‘नेकपा एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । आउने दिनमा पनि एमाले बहुमत ल्याएर प्रदेश र संघको सरकार संचालन गर्ने तयारीमा छ, त्यो आकांक्षाका साथ हामी चुनावमा जाँदैछौं,’ भट्टराईले भन्नुभयो, ‘त्यसो हुँदा हाम्रो घोषणा पत्र व्यवहारिक, उपयोगी, गर्न सकिने अनावश्यक पपुलारिटीको हिसाबले होइन्, एउटा राजनीतिक दलको हिसावले भोलि गर्न सकिने मुद्दाहरुमा केन्द्रित हुँदै व्यवहारिक मुद्दाहरुमा केन्द्रित हुँदै र विश्वव्यापी हाम्रा कमिटमेन्टहरुलाई पनि सम्बोधन गर्दै अगाडि जाने घोषणा पत्र हामी बनाउने छौं ।’

उहाँले घोषणापत्र बनाउँदा विषय विज्ञहरुसँग आवश्यक छलफल गरेर घोषणा पत्र तयार गरिने जानकारी पनि दिनुभयो । ‘जनपक्षीय, नेपालको राष्ट्रिय हितलाई सम्बोधन गर्ने, आजका चुनौतिहरुलाई सम्बोधन गर्न सक्ने आज जनताको आकांक्षा अनुरुपको घोषणा पत्र बनाउन हामी सक्षम हुनेछौं,’ सचिव भट्टराईले भन्नुभयो । उहाँले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले आगामी निर्वाचनको लागि बनाउन लागेको घोषणा पत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो ।