जनता टाइम्स

४ भाद्र २०७९, शनिबार १२:३८

इन्धनको मूल्य नघटाएकामा कांग्रेस नेता सिंहको आपत्ति


काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए ।

शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उदघाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताउनुभयो ।

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँनु हुँदै नेता सिंहले भन्नसभयो, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ ।

उहाँले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताउनुभयो । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उहाँको मत छ । उहाँले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिनुभयो ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उहाँले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरुमा राजनीतिकरण गर्न नहुने धारणा राख्नुभयो । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भन्नुभयो ।

बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उहाँले बताउनुभयो ।