काठमाडौं, भदौ ६ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नीति, सिद्धान्त, काम र नेतृत्वको हिसावमा नेकपा एमालेसँग कसैको तुलना नै हुन नसक्ने बताउनु भएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागले आज काठमाडौंमा आयोजना गरेको रेडियोकर्मीसँगको अन्तरसम्वादमा बोल्दै बिभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव गुरुङले आफ्नो पार्टी एमालेसँग नेपाली कांग्रेसलगायत कसैको पनि तुलना हुनै नसक्ने तथ्य राख्नुभयो । ‘नीति, बिचार, सिद्धान्त, काम र नेतृत्वको हिसावमा एमालेसँग कसैको तुलना नै हुन सक्दैन तर एमाले र कांग्रेस उस्तै उस्तै हो भनेर जनतामा भ्रम सिर्जना गर्ने अफवाहपूर्ण काम बिरोधीहरुबाट भइरहेको छ, त्यसलाई चिर्न अव सवै एकजुट भएर लाग्नुपर्छ,’ गुरुङले भन्नुभयो । उपमहासचिव गुरुङले कांग्रेस नारामा मात्रै लोकतान्त्रिक देखिएको तर ब्यवहारमा नरहेको बताउनु भयो ।
‘नेपाली कांग्रेस नाम मात्रको डेमोक्याटिक हो, एमाले रियल (बास्तविक) डेमोक्र्याटिक पाटी हो, यो कुरा कामबाटै प्रमाणित भइसकेको छ तर उल्टो प्रचार गर्ने काम बिरोधीले गरिरहेका छन,’ गुरुङले भन्नुभयो । उहाँले मुलुकमा अहिले अफवाह फैलाएर जनतालाई भ्रममा राख्ने र मुलुकको समृद्धिको अभियान रोक्ने काममा पाँच दलीय गठबन्धन लागेको पनि बताउनु भयो । उहाँले गठबन्धनलाई लुटेराहरुको संज्ञा पनि दिनुभयो । ‘जनतामा जुन भ्रम फैलाइएको छ गठबन्धनको नाममा, त्यसलाई चिर्दै अघि बढदा आउँदो चुनावमा एमालेले सहजै यो लुटेराहरुको समुह (गठबन्धन) लाई पराजीत गर्न सक्छ, अव सवैको ध्यान यसतर्फ केन्द्रित गर्नूपर्छ,’ गुरुङले भन्नुभयो ।
उहाँले मुलुकको बिकास र समृद्धि नचाहने र राष्ट्रिय स्वाधिनतालाई दाउमा राख्न तयार भएको गठबन्धनले सत्य कुरा कहिल्यै नगरेको र बालुवाटार प्रकरणमा समेत उल्टो प्रचार गरेको बताउनु भयो । ‘अफवाह कसरी फैलाइएको छ भन्ने उदाहरणको रुपमा बालुवाटारको जग्गा प्रकरण र वाइडबडी काण्डलाई लिन सकिन्छ, केपी ओली नेतृत्वको सरकारले सरकारी जग्गा हडपेर बसेका समुहमाथि छानविन समिति बनाएर तथ्य बाहिर ल्यायो, को को दाषी हुन भन्ने पत्ता लगायो, वाइडबडी खरिदमा भएको बदमासीलाई बाहिर ल्यायो तर उल्टै अपराध ढाकछोप गर्न केपी ओलीमाथि नै बालुवाटार काण्डको नामाकरण गर्यो,’ गुरुङले भन्नुभयो, ‘दोषी पत्ता लगाएर राज्यको सम्पत्ति संरक्षण गर्ने नायकलाई काण्ड भनेर अपराध गर्नेहरुको पक्षमा उनीहरु लागे ।’
उपमहासचिव गुरुङले नेपालमा एमालेप्रति मिडिया निकै नकारात्मक भएको देखिएको भन्दै अव यथार्थ खोज्ने जानकारी पनि दिनुभयो । ‘सत्य कुरासमेत तोडमोड भइरहेको कारण मिडिया एमालेमैत्री भएन, एमाले मिडियामैत्री भएन भन्ने देखियो, अव यस्को कारण खोजी गरेर हामी सच्चिनु पर्नै अवस्था छ भने तयार छौं, मिडिया पनि हामी जस्तै कतै त्रुटी वा पूर्वाग्रहको शिकार भइरहेको छ भने सच्चिनु पर्छ भन्ने चाहन्छौं,’ बिभाग प्रमुख गुरुङले भन्नुभयो ।

प्रचार बिभागका उपप्रमुख तथा केन्द्रीय सदस्य बिष्णु रिजालले एमालेले गरेको कामबाट अत्ताल्लिएकाहरु झुटो प्रचारमा लागेको भन्दै सत्य र एमालेले जनताको पक्षमा गरेको कामलाई जस्ताको तस्तै पस्किदिन सवै सञ्चार क्षेत्रलाई अपिल गर्नुभयो । ‘एमालेको पक्षमा लागिदिनोस भनेर हामी भन्दैनौं तर एमाले नेतृत्वको सरकारले गरेको कामलाई जनताको बीचमा जस्ताको तस्तै पुर्याइ दिन अनुरोध गर्न चाहन्छौं, रिजालले भन्नुभयो ।

प्रचार बिभाग सचिव गगन बिष्टले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याव) का बरिष्ठ उपाध्यक्ष बिष्णु अवस्थी र ब्रोडकास्टिक एशोसिशन अफ नेपाल (बान) का बरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले रेडियोको समस्याप्रति नेकपा एमाले अझ बढी सचेत भई समाधानको बाटोमा लाग्न सुझाउँदै अहिलेसम्मको कामको मुल्यांकण गर्दा केपी ओली नेतृत्वको सरकारले गरेको जस्तो मुलुक र जनताको पक्षमा कुनै पनि सरकारले काम नगरेको तथ्यलाई स्थापित भइसकेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्