जनता टाइम्स

७ भाद्र २०७९, मंगलवार १९:११

सरिता तिवारीलाई खुलापत्र : यो तथ्य छोप्न सकिन्छ र ?


निहारिका राजपुतलाई सर्वोच्च अदालत कम्पाउण्ड भित्रबाट जोरजर्वर्जस्ती लछार पछार गर्दा तपाईंको चित्त दुःखेन ? ओली सरकारले हिंसा हत्या र एसिड आक्रमण विरोधी अध्यादेश ल्याउँदा तपाईँहरु किन मौन विरोधमा रहनु भयो ? जाती र असल काम र कुरालाई खुला दिलले किन समर्थन गर्नु हुन्न ? महाकालीमा जयसिंह धामी मारिँदा हाम्रा आँखाबाट शोकका दुई थोपा आँसु किन आएन ?

मिथिला पोखरेल

प्रसिद्ध लेखक सरिता तिवारी बारबार एक महत्वपूर्ण छापा पत्रिकामा लेखिरहनु हुन्छ । विशेषतः उहाँले ने.क.पा.एमाले र अझ ओली विरुद्ध लेख लेखेको पाइन्छ । घरमा नै पत्रिका आउनाले मेलै पनि समय मिलाएर पढ्ने गरेकी छु । तिवारीले यही साउन १७ गते उफ् , यो स्त्रीद्वेष ! नामको लेख कान्तिपुर दैनिकमा छापिएको रहेछ । पढियो र पढेपछि प्रतिक्रिया स्वरुप यो लेख लेखिएको हो ।

उहाँले नै अथ्र्याए अनुसार स्त्रीद्वेषको सामान्य अर्थ महिला प्रति पूर्वनिर्धारित वा तत्कालीन घृणा र अपमान हो । तिवारीजी द्वेष,शत्रुता, वा परपीडन एउटा खराव प्रवृत्ति पनि हो । यस्तो खालको बानी र बेहोरा भएको मानिस देश प्रति नै द्वेष वा घृणा व्यक्त गर्दा रहेछन् ।देशभक्तलाई धारे हात लगाएर देशभक्ति हुँदैन तिवारीजी ।

तिवारीजीले गठबन्धन सरकार बनेदेखि स्त्रीद्वेष ह्वात्तै बढेको कम्तीमा देख्नु भयो र यसका बारेमा लेख्नु पनि भयो तर देश प्रति नै द्वेष राखेको र गरेको किन देख्नु भएन ? गठबन्धन सरकार देश द्वेषी रहेको थाहा भइकन किन मौन बस्नु भएको हो ? र यस्ता अत्यन्त द्ःख लाग्दा र समस्त देशवासीलाई बिझाउने विषयमा किन केही लेख्नुहुन्न यो प्रश्न मैलै तपाईँ सित गर्नै खोजेको हो । महाकालीमा जयसिंह धामी मारिए,महाकालीको आकाशमा भारतको सैनिक हेलिकेप्टरले चार चक्कर लगायो,चुच्चे नक्सा भारतमा रहेको नेपाली दूतावासमा बुच्चे पारियो, २४ लाख कोरोना खोप सरकार आफैँ हरायो भन्छ ।

केही दिन अघि कोरोना खोप समयमै लगाउने प्रबन्ध सरकारले नगर्दा कामै नलाग्ने भयो । अमेरिका सित गुपचुपमा गरेको एसपीपी सम्झौता दवाव पछि सरकार आफैँले नगर्ने निर्णय गर्यो र पत्र पनि पठाउने भन्यो तर पत्र पठाइरहेको छैन । बजेट निर्माण गर्दा बाहिरी व्यक्ति प्र्रवेश गराई करका दरमा भारी परिवर्तन गर्ने र नेपाल आमामाथि घात गर्ने अर्थमन्त्री जनार्दन शर्मा जस्ता कुुपुत्रलाई सरकारले बहुमतका नाममा जवर्जस्ती चोख्यायो । विवादित नागरिकता विधेयक पास भयो । के बहुमतका नाममा जे पनि गर्न मिल्छ ? र यस विषयमा हामी मौन बस्न सुहाउँछ ? त्यसैले नेपाल आमाको छाती चिरेर त्यसमा नुनचुक दलिरहेको देखेर त्यसका बारेमा चुप्प लाग्ने अनि चेलीको चोलो च्यातियो भनेर मात्र चिन्ता गर्नु मात्र जाती होला र सरिताजी ?

आफ्नालाई माया र अर्कोलाई घृणा वा द्वेष,आफूलाई मन परेको पार्टी र सरकार उसले गरेको नराम्रै कामलाई प्रशंसा,सिद्धान्त विचार नमिलेकै आधारमा पूरै घृणा गर्नु जाती होइन । सरिता जी,तपाईँ प्रायः एमाले र अझ ओली प्रति चरम घृणा गर्दै लेख लेखेको मैले पढेकी छु । देश र जनताको भलो गर्ने पार्टी,नेता र सरकारलाई यसरी खेदी खेदी घृणा गर्नु अनैतिक हो । ओली सरकारका पालामा भएको निर्मला पन्तको हत्याका विरुद्ध सडकमा उत्तेजक तथा हिंस्रक प्रदर्शन गर्ने कतिपय महिला गठबन्धन सरकार बनेपछि महिला हिंसा र हत्याका घटना चरम रुपमा बढोत्तरी हुँदा किन मौन छन् ? निहारिका राजपुतलाई सर्वोच्च अदालत कम्पाउण्ड भित्रबाट जोरजर्वर्जस्ती लछार पछार गर्दा तपाईंको चित्त दुःखेन ? ओली सरकारले हिंसा हत्या र एसिड आक्रमण विरोधी अध्यादेश ल्याउँदा तपाईँहरु किन मौन विरोधमा रहनु भयो ? जाती र असल काम र कुरालाई खुला दिलले किन समर्थन गर्नु हुन्न ? महाकालीमा जयसिंह धामी मारिँदा हाम्रा आँखाबाट शोकका दुई थोपा आँसु किन आएन ?

राष्ट्रपति विरुद्ध कतिपय महिला,बौद्धिक वा मानव अधिकारवादीहरुले मनोमानी तरिकाले मुख छाडेर बोल्दा हामी किन चुपचाप सरिताजी ? के उहाँ विगत जीवनमा एउटा राजनीतिक आस्था सम्बद्ध हुन्ुहुन्थ्यो भन्ने आग्रहले होइन र उहाँको अहिलेको काम हेर्ने कि हिजो कुन आस्था,जात,धर्म र लिङ्गको हो भनेर हेर्ने । सरिताजी लेख्नु होस् तर आज लेखेर भोलि पछुताउने दिन नआओस् । म पनि लेख्ने कोसिसमा छु । ठूलै नेता नभए पनि ठूला हौँ भन्न्ो र घमण्डले फुल्ने नेता भन्दा कम छैन । ठूलो कर्सीमा बसेर ठूलो पदमा विराजमान भएर मात्र ठूलो भइन्छ र कि बौद्धिक रुपमा पनि ठूलो हुनुपर्छ ? त्यसैले महिला आन्दोलन यिनै कारणले कमजोर भएको हो । बौद्धिक र लेखकीय क्षमता अत्यन्त आवश्यक छ । खै त राष्ट्रिय सभा र संसद्मा विजयी भएर र समानुपतिकबाट सभासद् भएका महिलाको संख्या भारी देखिन्छ । अझ प्रदेशमा पनि सभासद् निक्कै छन् तर त्यस अनुसार समाजमा प्रभाव कमजोर छ किन ? यस्ता कुरामा महिला संघ र पार्टी स्वयंको ध्यान जानुपर्छ कि पर्दैन ? मदन भण्डारीले भनेझैँ योग्य मध्ये योग्यतम नेतृत्व बनाउने भन्दा अयोग्य मध्ये योग्य बनाउन लागे पछि सोचे अनुसार उपलब्धि हासिल हुन सक्तैन ।

सरिताजी किन पहिलेजस्तो अहिले ओली सरकारका विरुद्ध छाती छेड्ने गरी गोली बर्साउने गर्नु हुन्न ? खोटो मन लिए पछि छोटो भइन्छ । आकास जत्तिको फराकिलो हाम्रो छाती हाम्रो कहिले होला ? संस्कृतको एउटा श्लोकमा आमालाई सबै भन्दा ठूलो गुरु मानेको रहेछ । हामी महिलाहरु आमाको भूमिकामा रहन सक्नुपर्छ । आमा कहिल्यै कुमाता हुन्नन् भन्ने छाप छाड्नु पर्छ । एउटा द्वेष र घृणामा रुने अनि अर्को घृणा र द्वेषमा हाँस्ने काम बन्द गर्नु पर्छ । यो देश बन्यो भने सबै कुरा ठिकठाक हुन्छ । कसैले पनि नेपाल र नेपालीको हितका लागि थोरै मात्र राम्रो काम गर्छ भने त्यसलाई सहर्ष स्वीकार गर्नुपर्छ । हाम्रो देशबाट नै सबै खालका असमानता र उपेक्षा हटेपछि मात्र महिलामाथि हुने द्वेष पनि हट्छ र हटाउन सकिन्छ ।

देशलाई माया गर्ने गर्ने पार्टी, नेता र सरकारलाई फुटेका आँखाले देख्न सकिएन भने आखिरमा हामी कसैको भलो हुन्न । देशमा सबै खालको देशघात,जनघात र सबै खालका भ्रष्टाचार तथा अनिममितता देखीदेखी त्यसका बारेमा एक शब्द नबोली महिला लगायत कसैको हक र हित कायम हुँदैन । सामन्तवादी शासनमा महिला वर्ग समाजको सबै भन्दा पुछारमा राखिएको थियो र चरम उपेक्षा र अपमान गरिएको थियो । त्यस बेला गाई बस्तुको नाम थियो । तिनलाई कम्तीमा तारे,सिँदुरे र तिल्के भनेर बोलाइन्थ्यो तर महिललाई फलानकी स्वास्नी,छोरी र आमा मात्र भनेर बोलाइन्थ्यो । पहिले पहिले त त्यस्तो थिएन भन्ने थाहा हुन्छ । गार्गी जस्ता विद्वान् थिए । राजा महाराजाका शासनमा महिला पैतालामुनि नै राखिए र पेलिए ।

पूर्वराजा ज्ञानेन्द्रका पाउ पखाल्न महिलाहरु नै अघि सरे । यसरी भाट विचार,चिन्तन र पाठ बारबार हजारबार पढाएर सदाएर दास संस्कृतिलाई जब्बर बनाइएको छ । यस्तो तुच्छ संस्कृति हटाउन लाग्नु परेन तिवारी जी ? त्यस्तै पुँजिवादी समाज व्यवस्थामा महिलाले अधिकार पाए पनि महिलालाई सबै खालको कमाउ धन्दाका रुपमा अश्लील र नाङ्गो रुपमा उपयोग गरेको त हो नि तर समाजवादी वा कम्युनिस्ट शासन प्रणाली भएका देशहरुमा महिलाको सबै क्षेत्रमा भएको उत्थान सरिताजीलाई थाहा नभएको होइन तर नेपालमा भने सही कम्युनिस्ट कोहो भनेर राम्ररी ठम्याउन्ु पर्छ । कम्युनिस्स्टको झण्डा बोक्तैमा सबै कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट आन्दोलनलाई भष्मखरानी पारेर कांग्रेसको टाङमुनि छिर्ने कम्युनिस्ट हुँदैनन् । सधैँ जनतालाई धाक धम्की दिने तर्साउने पनि कम्युनिस्ट हुन्छन् र ? अनेम संघ र एमाले पार्टी महिला लगायत सबैको उत्थान र उन्नयनको मूल आधार हो ।

अरुले भए महिला राष्ट्रपति बनाउँथे ? अहिले पुरुष सरह महिला हक हित दिने दिलाउने सबालमा संघर्ष गरी सफलता प्राप्त गर्न अनेम संघको र वर्तमान राष्ट्रपतिको अग्रणी भूमिका रहेको छ र यसमा अरु महिला संघको पनि भूमिका रहेको छ । त्यसैले भारतले नेपालमाथि गरेको नाकाबन्दीलाई भन्न नसक्ने पार्टी पनि थिए तर ओली र एमालेले नाकाबन्दविरुद्ध चट्टानी अडान राख्यो । संविधान जारी नगर्न र जारी गरेको संविधान विरुद्ध भारतीय सरकार मरिमेटेर लागि प¥यो । विराटनगरमा लामो समय देखि भातीय सैंनिक टुकडी बसिरहेको थियो । तर अरु कुनै सरकार र पार्टीले हटाउन कुनै पहल गर्न सकेका थिएनन् तर ओली सरकारले हटाइ छाड्यो ।

चीन तिर ओली सरकारले गरेको वाणिज्य र पारबहन सन्धी पहिले र पछि पनि अरु कसैले गर्न सक्ने थिएनन् तर ओली सरकारले गरिछाड्यो । अब भारतले नाकाबन्दी गरे पनि उत्तरी सीमा खुला भएको हुँदा भारतको कुनै धाक र धम्की देखि नेपाली डराउनु पर्दैन । के यी तमाम गतिविधि एउटा राष्ट्रभक्त सरकार र पूर्व प्र्रधानमन्त्री ओलीले गर्नु भएको होइन ? के यी तमाम काम कुनै पार्टी र नेता विशेषका लागि गरिएका हुन् र ? तमाम देशबासी र भावी सन्ततिका लागि गरिएका हुन् भने एकोहोरो कुनै ओली सरकारका सकार देखीदेखी नदेखेझैँ एकोहोरो ओली र एमालेलाई धारे हात लगाउनु सरासर नजाती कुरा हो । देशलाई मायाँ गर्नेले देशभक्तलाई पनि मायाँ गर्नुपर्छ र जान्नु पर्छ तिवारीजी ?

देशभक्तलाई घृणा गर्नु देशलाई द्वेष वा घृणा हा र धर्तीपुत्रलाई तिरस्कार गरेर धर्तीको मायाँ गरेको ठहर्दैन लेखक महोदय ? पदीय हिसावले पार्टी र राजकीय तहको उपल्लो तहकी नभए पनि यस्ता गलत कुराको जानी नजानी खण्डन गर्ने गरेकी छु । कृपया देश र जनताका लागि राम्रा काम गर्नेहरुका विरुद्ध यस खालका गलत र फरेवी लेख लेखेर आम जनतालाई अब आइन्दा भड्काउने दुष्प्रयत्न नगर्नु होला तिवारी जी ?

(इटहरी निवासी लेखक अनेमसंघ,केस.एमाले प्रदेश सल्लाहकार तथा चेलीको चीरहरण कृतिकी लेखक हुनुहुन्छ ।)