जनता टाइम्स

९ भाद्र २०७९, बिहीबार ०९:१२

१८ बर्षपछि समातिए बाबुआमालाई नियन्त्रणमा लिएर बालिका छोरीमाथि सामूहिक बलात्कार गर्ने अभियुक्त


सुनसरी, भदौ ९ । बाबु र आमालाई नियन्त्रणमा लिएर बालिका छोरीमाथि सामूहिक बलात्कार गरेको घटनाका एक जना अभियुक्त १८ बर्षपछि पक्राउ परेका छन ।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालका अनुसार घटना भएको १८ वर्षपछि बराक्षेत्र नगरपालिका ५ भरौलका ३५ वर्षीय सुरज विश्वकर्मालाई पक्राउ गरिएको हो ।

एसपी ढकालका अनुसार विश्वकर्मासहित ४/५ जनाको समूहले इनरुवा नगरपालिका २ की १४ वर्षीया बालिकालाई १८ वर्षअघि सामूहिक बलात्कार गरेको थियो। घटनापछि फरार रहेका प्रतिवादीमध्ये विश्वकर्मालाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा गत आइतबार पक्राउ गरिएको हो । उनीसहित बलात्कारमा संलग्नविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो।

सर्वोच्च अदालतले विश्वकर्मालाई ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला सुनायो। तर कैद भुक्तान नगरिकन भागिरहेका थिए। खोजी तीव्र पारेर घटनामा संलग्नलाई पक्राउ गर्नका लागि एसपी ढकालले विशेष टोली परिचालन गरेपछि विश्वकर्मा प्रहरीको फन्दामा परेका हुन । पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले उनलाई कैद सजाय भुक्तानका लागि झुम्का कारागार चलान गरेको छ।

घटना अनुसार आफ्नै घरमा सुतिरहेकी १४ वर्षीया बालिका २०६१ साल मंसिर २३ गते मध्यराति बलात्कृत भएकी हुन्। ४/५ जनाको समूहमा रहेका युवा बालिकाको घरमा पुगेका थिए। बाबुआमालाई नियन्त्रणमा लिँदै हातखुट्टा बाँधेर बालिकाकालाई सामूहिक बलात्कार गरेको एसपी ढकालको भनाइ छ। उहाँका अनुसार पालैपालो बलात्कार गरेपछि बालिकालाई अचेत अवस्थामा छाडेर घटनामा संलग्नहरु भागेका थिए।

घरभित्रै बेहोस अवस्थामा भेटिएकी बालिकालाई स्थानीयको सहयोगमा उद्धार गरी प्रहरीले उपचारका लागि लगिएको थियो। तर बलात्कारमा संलग्नहरु तत्काल फेला परेनन्। लामो समयदेखि खोजी जारी राखेको प्रहरीले एक जना अभियुक्तलाई भने पक्राउ गरेको हो।