जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १६:१९

चीनका थप ८ विमानस्थल नेपालका लागि खुल्ला, सातामा ९८ उडान हुने


काठमाडौं, साउन १०

चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुल्ला गरेको छ । यसअघि ७ विमानस्थलमात्र खुल्ला गरेको चीनले थप ८ वटा गरी अब कुल १५ विमानस्थलमा उडान गर्न पाउने भएका छन् ।

बेइजिङमा दुई दिनसम्म चलेको वार्तापछि द्वपक्षीय हवाई सम्झौता पुनरावलोकन गरिएको हो । नयाँ व्यवस्थामा विमानस्थलको नाम नतोकी नेपाली एयरलाइन्सले उडान चाहेका विमानस्थलमा अनुमति पाउने उल्लेख छ । नेपालको तर्फबाट संसकृति पर्यटन मन्त्रालयका सहसचिव शुरेश आचार्यको नेतृत्वमा गएको टोलीले सम्झौता पुनरावलोकनमा हस्ताक्षर गरेको हो।

नयाँ व्यवस्थाअनुसार अबदेखि नेपाल चीनबीच हप्तामा ९८ उडान हुने छन्। यअघि ७० उडान पाउने व्यवस्था थियो। थपिएको फ्रक्वेन्सी काठमाडौं बाहिरका विमानस्थलमा लागू हुनेगरी सम्झौता गरिएको नेपाली प्रतिनिधि मण्डलका सदस्य संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिनुभयो । भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलमा चीनका विमानले उडान भर्न पाउनेछन् ।

हाल पाँच चिनियाँ एयरलाइन्सले सातामा ४६ पटक काठमाडौं उडान गरिरहेका छन्। एयर चाइनाले छेन्दु–ल्हासा हुँदै काठमाडौं ३ र छेन्दु–काठमाडौं ७ उडान गरी सातामा १० उडान गर्छ। चाइना इस्टर्नले कुनमिङ–काठमाडौं रूटमा दैनिक २ उडान (सातामा १४) उडान गरिरहेको छ। त्यस्तै, चाइना साउदर्नले पनि सातामा १४ उडान गर्छ । यसले ग्वाङजाउ–काठमाडौं उडान गर्छ ।

त्यस्तै ल्हासा ट्रान्जिट बनाएर छेन्दुबाट काठमाडौं उडान गर्ने सिँचुवान एयरलाइन्सले पनि सातामा चार उडान गर्छ । छेन्दु–काठमाडौं रूटमा उडान गर्ने तिब्बत एयरलाइन्सले सातामा चार उडान गर्छ। तर नेपाली एयरलाइन्सहरूले चीनका कुनै पनि विमानस्थलमा नियमित उडानको अनुमति पाएका छैनन । नयाँ सम्झौतासँगै नेपालको हिमालय एयरलाइन्सले चीनका थप गन्तव्यमा उडान गर्न पाउने भएको छ।