लमजुङ, भदौ ९ । मध्यनेपाल नगरपालिका ६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनु हुन्छ । उहाँ उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्नुहुन्छ । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउनु हुन्छ ।
उद्योगमा उनीसँगै अन्य नौ जना स्थानीय महिला पनि सीप सिक्दैछन् । उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदै हुनुहुन्छ । सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीको भनाइ छ ।
‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उहाँले भन्नुभयो, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उहाँ बताउनु हुन्छ । भन्नुभयो, ‘त्यसैले मसँगै अन्य नौ जना दिदीबहिनी पनि सिप सिक्दै छन् । साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदैछन् ।’
पाँच लाख लगानीबाट उद्योग सुरु
१५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गर्नुभएको हो । सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उहाँले बताउनु भयो ।
सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेको उहाँको भनाइ छ । सिप सिक्नका लागि उहाँसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए । स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि उद्योग सुरु गरेको उनी बताउँनु हुन्छ । ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उहाँले भन्नुभयो, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ ।’
हस्तकलाका सामानको माग र मूल्य राम्रो
लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ । अबको ६ महिनाभित्रमा २–३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उहाँ बताउनु हुन्छ ।
उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उहाँ बताउनु हुन्छ । उद्योगको उत्पादन विदेशसम्म पुराउने उहाँको सपना छ । सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासु, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ ।
‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उहाँले भन्नुभयो, ‘महिलालाई सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ ।’













प्रतिक्रिया दिनुहोस्