जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १९:४१

बाढी–पहिरोले अवरुद्ध १० राजमार्ग अझै खुलेनन : यी हुन अवरुद्ध राजमार्ग


काठमाडौं, साउन १० । अबिरल वर्षापछि मुलुकका विभिन्न भागमा आएको पहिराले १० वटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोसँगै सडकमाथिबाट खसेका ढुंगा पन्छाउन नसक्दा ती राजमार्ग अवरुद्ध भएका हुन ।

गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म मध्य पहाडी लोकमार्ग, सिद्धिचरण राजमार्ग, दिक्तेल–हलेसी लगायत राजमार्गमा सवारी साधन चल्न सकेको छैन । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार उदयपुर कटारी नगरपालिका १४ घुर्मी भदौरेमा पहिरो गएपछि सिद्धिचरण राजमार्ग केही दिनदेखि बन्द छ । यस्तै भोजपुर नगरपालिका १० मिलनचोकस्थित लेगुवा–भोजपुरमा माथिबाट ढुंगा खसेपछि मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका ७ लोकेबरमा गएको पहिरोले दिक्तेल–हलेसी मार्ग पनि अवरुद्ध भएको छ । बाटो अवरुद्ध भई यातायातका साधन चल्न नसक्दा यात्रु गन्तब्यमा पुग्न सकेका छैनन । ललितपुरको कान्ति लोकपथ भट्टेडाँडा आग्राङ टुङगुनमा पनि पहिराले अवरोध पुर्याएको छ । यस्तै कान्ति लोकपथ पनि केही दिनदेखि अवरुद्ध भएको छ । जस्को कारण यात्रु मारमा परेका छन ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार मकवानपुर इन्द्रसरोवर गाउँपालिका २ सल्लेमा गएको पहिरोले हेटौंडा, कुलेखानी, फाखेल, काठमाडौं मार्गमा पनि यातायातका साधन रोकिएका छन् । मकवानपुरकै पापी खोल्साको पहिरोले सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौं आवतजावत गर्ने सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको छ ।यस्तै जाजरकोट शुभकालिका गाउँपालिका १ स्थित गगन खोलामा पहिरो गएकाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने रसुवा गोसाइँकुण्ड गाउँपालिका ५ तातोपानीमा पर्ने स्याफ्रुबेंसी–मैलुङको भित्री मार्ग केही सातादेखि नै अवरुद्ध रहेको गृह मन्त्रालयले जनाएको छ ।