जनता टाइम्स

१० भाद्र २०७९, शुक्रबार २३:०२

मेयरले भत्काउँदै हिँड्ने हो भने गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ – कांग्रेस सचेतक विश्वकर्मा


काठमाडौं, १० भदौ । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गर्नूभएको छ । काठमाडौं महानगरपालिकाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो । उहाँले मेयर शाहको शैलीप्रति आपत्ति जनाउनुभएको थियो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना गरेको भन्दै आपत्ति समेत जनाउनुभयो । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताउनुभयो । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उहाँको भनाइ थियो । नेता विश्वकर्माले भन्नुभयो , ‘हामी आज बजारमा के–के देख्दै छौं त ? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब । हाम्रो सिस्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त गृह मन्त्रीलाई बन्दुक चलाउने अधिकार छ ।

स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ । तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ ? हाम्रो सिस्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौ ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं । त्यसलाई विधि अनुसार चलाउनु पर्छ । गल्ती गर्नेलाई पत्र काटे भयो । उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो । यतातिर ध्यान दिन जरुरी छ ।’ नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको गुनासो समेत गर्नुभएको थियो । उहाँले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउनेतर्क समेत गर्नुभएको छ ।