जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १६:३६

पालो पुर्याउन कर्णालीमा दुई माओवादी मन्त्रीले दिए राजीनामा


सुर्खेत, १२ भदौ । कर्णली सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

उनीहरू दुवैले दिएको राजीनामा आजै मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वीकृत गरेको बताइएको छ । पालो पुर्याउन माओवादीले उनीहरू दुईलाई फिर्ता बोलाएर अन्य दुईजनालाई पठाउने निर्णय गरेपछि यी दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादीले जाजकोटकी सांसद कृष्णा शाह र रुकुमपश्चिमका सांसद रातो कामीलाई यी दुईका ठाउँमा मन्त्रीका लागि सिफरिस गरिसकेको छ । शाह र कामीलाई सोमबार सपथ ग्रहण गराइने बताइएको छ ।