काठमाडौं, १२ भदौ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । उक्त कमिटीलाई व्यवस्थित र परिचालन गर्न सचिवालय पनि गठन गरिएको छ ।
सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहने सचिव विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालयमा आवश्यकतानुसार मनोनित गर्न सकिने निर्णय पनि केन्द्रीय कमिटी बैठकले गरेको छ ।
अध्यक्ष ओलीको संयोजकत्वमा गठन सचिवालयमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे सदस्य रहनुभएको छ ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ । बैठकले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय गरेको छ ।
प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रूपमा समग्र प्रचार कामको नेतृत्व गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो ।















प्रतिक्रिया दिनुहोस्