जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार ०८:१८

संघीय र प्रदेश सांसदसहित नेकपा (एस) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रवेश गर्ने


धनगढी, १३ भदौ । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रवेश गर्ने भएका छन् ।एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लाग्नुभएको हो ।

सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ ।

यी नेताहरुले हालै एमालेका केन्द्रीय नेताको समन्वयमा बालकोट पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटसमेत गरिसकेको बताउँदै एमाले कञ्चनपुरका एक पदाधिकारीले आपसी समझदारी भइसकेको र औपचारिक रुपमा पार्टीमा प्रवेश गर्न मात्र बाँकी रहेको जानकारी दिनुभयो । ती पदाधिकारीकाअनुसार एमालेमा एकीकृत समाजवादी मात्र नभएर नेकपा माओवादी केन्द्रबाट समेत ठूलो संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी छ ।

संविधानसभा सदस्य समेत रहेका हरिश ठकुल्ला (कमल क्षेत्री) र नेता मोहन गिरी पनि पार्टी प्रवेश गर्दैहुनुहुन्छ । कञ्चनपुरमा माथिल्लो तहका नेताहरु एमालेमा जाने खबरपछि समाजवादी र माओवादी केन्द्रका नेता उनीहरुलाई जसरी भएपनि रोक्ने रणनीतिमा लागेका छन् । समाजवादी र माओवादीबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।