काठमाडौं, भदौ १३ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएका छन । प्रमुख प्रतिपक्षी नेकपा एमालले विकृतिको हल गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले सरकारलाई यथासीघ्र समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।
एमालेले त्रिभुवन विश्वविद्यालयमा भइरहेको बेथिती तत्काल हल गर्न सरकारसँग माग गरेको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव तथा सांसद प्रदीप ज्ञवालीले विश्वविद्यालयमाथि सत्तापक्षबाटै पटकपटक आक्रमण हुँदै आएको बताउनु भयो।
उहाँले विश्वविद्यालय धराशयी बनाउने माथि सरकारले कारबाही नगरेर टुलुटुलु हेरेर बसेको बताउनु भयो । विश्वविद्यालयमा पटकपटक आक्रमण हुँदासमेत कुलपति र सहकुलपति संवेदनशील नभएको बताउनु भयो।
ज्ञवालीले भन्नुभयो, ‘विश्वविद्यालय धराशयी अवस्थामा छ । हजारौं विद्यार्थी विदेश पलायन भएका छन् । शिक्षाको गुणस्तर कसरी कायम हुन्छ ? प्राध्यापकमाथि आक्रमण गर्नेको मुद्धा फिर्ता लिइयो । प्रमुख प्रतिपक्षी यो स्थिती टुलुटुलु हेरेर बस्न सक्दैन । आफूले भनेजस्तो नभएपछि विश्वविद्यालयमाथि हमला गरियो । गर्न के खोजिको हो ।’
बुढानीलकण्ठमानै विश्वविद्यालयको कार्यालय लैजान खोजेको हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले समस्या समाधान गर्न सरकारलाई निर्देशन दिनुभयो। विश्वविद्यालयमा विगत ३ महिनादेखि तालाबन्दी छ। विद्यार्थीहरुको आन्दोलनका कारण विश्वविद्यालयका प्रशासनिक कार्य र नीतिगत निर्णयमा कठिनाइ भएको विश्वविद्यालय प्रशासनले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्