जनता टाइम्स

११ श्रावण २०७६, शनिबार १४:०३

विद्युत प्रसारणलाइनमा देखियो ओली सरकारको उत्कृष्ट काम : एकै बर्षमा भयो ७८० किलोमिटर निर्माण


काठमाडौं, साउन ११

विगत एक वर्षमा सरकारले कुनै पनि काम गरेन भनेर आलोचनामा उत्रिएकालाई उर्जा मन्त्रालयले कामले नै गतिलो जवाफ दिएको छ । जलविद्युत आयोजनाको निर्माणलाई निक्कै प्राथमिकता दिएको सरकारले एक वर्षमै ७८० किलोमिटर प्रसारणलाइनको निर्माण सकाएको छ ।

मन्त्रालयले प्रसारणलाइन विस्तारको जिम्मा भने नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले पनि ताकेता गरेका कारण कामलाई तिव्रता दिइएको बताउनु भयो । उहाले निर्माण सक्न ढिलाइ भइरहेका धेरै रुग्ण आयोजनालाई गत वर्ष पूूर्णता दिएर ‘चार्ज’ गरिएको बताउनु भयो ।

निकै महत्वपूर्ण मानिएका १५ परियोजना सम्पन्न भएपछि नेपाललाई हिउँदयाममा ऊर्जा संकट पर्दा भारतबाट पर्याप्त बिजुली ल्याउन सहज भएको छ । गत वर्ष २२० केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको निर्माण भयो । ७८ किलोमिटरको यो अन्तरदेशी प्रसारणलाइन बनेपछि भारतबाट थप बिजुली आयात गर्न मात्रै होइन, नेपाललाई बढी हुने बिजुली एकैपटक ४ सय मेगावाटसम्म निर्यात गर्न बाटो खुल्यो ।

यो वर्ष २२० केभीको खिम्ती–ढल्केबर प्रसारणलाइन र त्रिशूली–काठमाडौं प्रसारणलाइनको निर्माण पनि गत वर्षमा नै सम्पन्न भयो । २२० केभीको यो प्रसारणलाइन दुई सर्किटमा बनेको छ । जसको एउटा सर्किट चार्ज भएर सञ्चालनमा छ । यो आयोजनाले त्रिशूली बेसिनमा बन्ने आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न भविष्यमा ठूलो मद्दत गर्नेछ । यो वर्ष १३२ केभीका ११ वटा प्रसारणलाइनहरुको निर्माण सकियो । यो वर्ष सकिएकोमध्ये सबैभन्दा लामो प्रसारणलाइन हो, चमेलिया–स्याउले–अत्तरीया । १३१ किलोमिटर लामो यो प्रसारणलाइन सञ्चालनमा आएपछि पश्चिम नेपालको बिजुली आपूर्ति सजिलो र विश्वसनीय भएको छ ।

‘हामीले सबस्टेसन, प्रसारणलाइन र वितरण लाइनलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्दै देशभित्रै अधिकतम बिजुली उपयोग हुने वातावरण सिर्जना गर्न चाहेका छौं,’ घिसिङले भन्नुभयो, त्योसँगै हामीले खपत गरेर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्ने पूर्वाधार निर्माणमा पनि केन्द्रित छौं ।’