जनता टाइम्स

१६ भाद्र २०७९, बिहीबार २२:१०

कांग्रेसका सर्वसम्मत उम्मेदवार : इँटा भट्टामा जिउँदै जलाउनेदेखि अस्पतालमा बम राखेर तर्साउनेसम्म


काठमाडौं, १६ भदौ ।नेपाली कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आउँदो निर्वाचनको लागि माथिल्लो तहमा विभिन्न नेताहरुको नाम सिफारिस गरेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवरको लागि माथिल्लो तहमा सिफारिसमा पर्नेमा इँटा भट्टामा जिउँदै जलाउनेदेखि मेडिकल माफियाका आरोपितसम्म छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीदेखि महामन्त्री विश्वप्रकाश शर्मा पनि सिफारिस हुनुभएको छ । केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ सिफारिस गरेको नाममा ती व्यक्तिको एकल नाम प्रस्ताव गरिएको छ।अहिलेसम्म पाँचजना आकांक्षी नेताको नाम सम्बन्धित निर्वाचन क्षेत्रबाट सर्वसम्मत जिल्ला कार्यसमितिमा सिफारिस भएको छ। नाम सिफारिस भएकाहरू नै उम्मेदवार बन्ने सम्भावना छ।

मोहम्मद अफताव आलम सिफारिस

बम विस्फोटमा संलग्न रहेका र घाइतेलाई जिउँदै इँटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि थुनामा रहेका मोहम्मद अफताव आलमलाई कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ। रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिनुभयो । आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। २०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो। घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकालाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ। आलम २०७६ सालको असोजमा पक्राउ परेका थिए। उनी थुनामा छन्।

सुनील शर्मा मोरङ ३ बाट सिफारिस

मेडिकल शिक्षामा विवादास्पद छवि बनाएका सुनील शर्मालाई यसपालि पनि कांग्रेसले उम्मेदवार बनाउने भएको छ। मोरङ क्षेत्र नम्बर–३ मा कांग्रेस उम्मेदवार बनाउन उहाँलाई क्षेत्रले केन्द्रमा सिफारिस गरेको हो। उहाँ २०७४ को चुनावमा पनि उम्मेदवार भएपनि पराजित हुनुभएको थियो । सरकारको नेतृत्व गरेको राजनीतिक पार्टीको छत्रछायाँमा शर्माले सञ्चालन गरेको काठमाडौं मेडिकल कलेजले ४० लाख रुपैयाँ भर्ना शुल्कबाहेक २० देखि ४० लाख रुपैयाँ ठगिरहेको उजुरी मेडिकल काउन्सिलमा परेको थियो। यस्तै उहाँले सञ्चालन गरेको विराटनगर मेडिकल कलेजका विद्यार्थीहरूले पटक(पटक आन्दोलन गरेका थिए। चुनाव लड्नकै लागि कांग्रेसमा प्रवेश गरेर मोटो रकम खर्च गरी महासमिति सदस्य हत्याउन सफल भएका शर्माले अघिल्लो पटक करोडौँ रुपैयाँ खर्चेर पनि चुनाव जित्न सफल हुनुभएन ।

माओवादी आन्दोलनको एउटा कालखण्डमा नेपाली कांग्रेस निकट मोरङ इटहराका कृष्ण बैठाको हत्यादेखि, शान्तिप्रक्रियापछि माओवादीमै संलग्न भएर डा. ज्ञानेन्द्र गिरीमाथिको मारपिट काण्ड, आफ्नै अस्पताल परिसरमा बम राखेर आफ्नै साझेदार डा. ज्ञानेन्द्रलाई तर्साउने योजनाकार जस्ता आरोप पनि उहाँमाथि लागेको छ। यसबोहक डा. आरजु राणा देउवा पनि सर्वसम्मत सिफारिस हुनुभएको छ । उहाँ कैलाली–५ बाट सिफारिस हुनुभएको हो। महामन्त्री विश्वप्रकाश शर्मालाई झापा–१ बाट सिफारिस गरिएको छ। राप्रपाबाट आएका पूर्वसहमहामन्त्री सुनिल थापालाई धनकुटाबाट सिफारिस गरिएको छ।