एजेन्सी, १७ भदौ । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरको बिहीबार राति हत्याको प्रयास गरिएको छ । अज्ञात आक्रमणकारीले उनलाई गोली चलाउने प्रयास गरे पनि बन्दुकले फायर गर्न सकेन। क्रिस्टिनालाई हत्याको प्रयासमा कुनै चोटपटक लागेको छैन र उनी ठीकै छिन्।
६९ वर्षीय उपराष्ट्रपतिमाथि भ्रष्टाचारको आरोप लागेको छ । देशको राष्ट्रपति हुँदा क्रिस्टिनाले भ्रष्टाचारको धेरै आरोपको सामना गर्नु परेको थियो । केही दिनअघि अर्जेन्टिनामा क्रिस्टिनाका हजारौं समर्थकले र्याली निकालेका थिए ।
उनीहरु उपराष्ट्रपतिको घरबाहिर भेला भएका थिए । उनीहरुले अवरोध तोडेर प्रहरीसँग झडप गरेका थिए । झडपमा कैयौं प्रहरी घाइते भएका थिए भने चार प्रदर्शनकारी पक्राउ परेका थिए ।
क्रिस्टिनामाथि भएको आक्रमणको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ कि क्रिस्टिना मानिसहरूलाई भेट्ने क्रममा आक्रमण गरिएको थियो। हात मिलाउँदै उनी अगाडि बढिरहँदा भीडबाट एकजना बन्दुक बोकेको मानिस उनीतिर आयो ।
उनको बन्दुक क्रिस्टिनाको निधारमा थियो तर अन्तिम क्षणमा उनको बन्दुकको स्ट्रिगर अड्कियो र क्रिस्टिना जोगिइन। क्रिस्टिना भाग्यशाली ठहरिन् उनी आक्रमणबाट बाँचिन , घाइते पनि भइनन् ।
क्रिस्टिनाका समर्थकहरूको प्रदर्शन
अभियोजकहरूले भ्रष्टाचार र ठगी आरोपको सामना गरिरहेकी क्रिस्टिनालाई १२ वर्षको जेल सजायको माग गरिरहेका छन्। उनी सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति हुँदा सरकारी पैसा खर्च गर्ने योजनामा संलग्न भएको आरोप छ । तर अर्जेन्टिनामा उनको लागि ठूलो जन समर्थन पनि छ।
केही दिनसम्म उनको घरबाहिर केही समर्थकहरू उपस्थित थिए, जसलाई प्रहरीले भगायो । शनिबार भीडले प्रहरीको अवरोध तोडेपछि आन्दोलन उग्र बनेको थियो ।
मुद्रास्फीतिले अर्जेन्टिना थला पर्यो
अर्जेन्टिनाले हाल २० वर्षयताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको छ। सरकारले मुद्रास्फीति नियन्त्रण गर्न मन्त्रिपरिषद् हेरफेर गरेको छ । ७१ प्रतिशतको मुद्रास्फीतिसँग लडिरहेको अर्जेन्टिनाबारे विज्ञहरूको चेतावनी झनै डरलाग्दो छ ।
अर्जेन्टिनाको मुद्रास्फीति दर ९० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यो वर्ष केन्द्रीय बैंकले बढी पैसा छाप्न रोक लगाएको अवस्थाबाट पनि अनुमान लगाउन सकिन्छ । सडकमा अकासिएको मूल्यवृद्धिप्रति जनताको आक्रोश पनि देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्