जनता टाइम्स

१८ भाद्र २०७९, शनिबार ०८:०७

भाउजुसँग मिलेर श्रीमतीको हत्या


काठमाडौं, १८ भदौ ।  बारामा एक महिलाको हत्या भएको छ । महागढीमाई नगरपालिका ३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो ।प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी भाउजु २५ वर्षीया अप्सना खातुनलाई पक्राउ गरेको छ ।

हत्यामा उनीहरुको संलग्नता रहेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो । बिहीबार बिहान सहनाज खातुनको मृत्यु भएको प्रहरीले सूचना पाएको थियो ।घटना शंकास्पद देखिएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो । मृतकको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि सहनाजका श्रीमान सैमोदिनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।अनुसन्धानको क्रममा उनले आफूले हत्या गरेको स्वीकार गरेको एसपी बोगटीले बताउनुभयो । हत्यामा उनकी भाउजु अप्सनाको पनि संलग्नता खुलेपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । जिल्ला अदालतबाट ७ दिन म्याद लिएर उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।