कपिलवस्तु, भदौ १८ । लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल फुटेपछि १५ गाउँ जोखिममा परेका छन। लगातारको बर्षाका कारण तालको डिल फुटेसंगै जोखिम बढेको हो ।
गाउँपालिका कै पर्यटकीय स्थलका रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनु भयो । उहाँले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपालिकामा सम्पर्क गर्न अनुरोध पनि गर्नभएको छ ।
ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम घटनास्थल पुगेर अनुगमन गरेको थियो । विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताउनु भयो ।
‘प्रदेश र केन्द सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं,’ अध्यक्ष थापाले भन्नुभयो । थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानि आवश्यक रहेकाले गाउँपालिकाको सिमित स्रोत र साधनले नपुग्ने जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक विजय तिमिल्सिनाको नेतृत्वमा ईलाका प्रहरी कार्याल गणेशपुरको सुरक्षाकर्मीको टिम, मातहतका निकाय, सशस्त्र विओपी विसनपुरको टोलि उद्धारका लागि तैनाथ अवस्थामा रहेको छ । गाउँपालिकावासीलाई कुनै समस्या पर्ना साथ उद्धारका लागि सुरक्षाकर्मीको टोलि तयारी अवस्थामा रहेको प्रहरी निरिक्षक विजय तिमिल्सिनाले बताउनु भयो ।
शंकरपुर ताल जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका बताउछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् । शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।













प्रतिक्रिया दिनुहोस्