जनता टाइम्स

१८ भाद्र २०७९, शनिबार २०:२०

केन्याबिरुद्धको दोस्रो एकदिवसीय जितेसँगै नेपालको पोल्टामा श्रृंखला


काठमाडौं, भदौ १८ । केन्या विरुद्धको दोस्रो एकदिवसीय १७ रनले जित्दै नेपालले एक खेल अगावै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पोरेको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाएका छन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाए ।

अघिल्लो एकदिवसीयमा शतक बनाएका आशिफ शेखलाई आराम दिएर देव खनाललाई ओपनिङमा अवसर दिइएको थियो । उनले ३७ बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए । केन्याबिरुद्धको तेस्रो तथा अन्तिम म्याच सोमबार हुनेछ ।